चन्द्रमामा मानव बस्तीका लागि नासाको ‘मून बेस’ योजना सार्वजनिक

  १३ घण्टा अगाडि

काठमाडौँ, १३ जेठ : अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि महत्त्वाकाङ्क्षी ‘मून बेस’ योजनाको खाका सार्वजनिक गरेको छ । ‘आर्टेमिस’ अन्वेषण कार्यक्रम अन्तर्गत नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिक मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो ।

वासिङ्टनस्थित नासाको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान तथा व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरेका थिए ।

नासाका अनुसार ‘मून बेस’ परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरण सन् २०२९ सम्म सञ्चालन हुने छ, जस अन्तर्गत रोबोटिक अन्वेषण र आवश्यक प्रविधिको परीक्षण गरिने छ । दोस्रो चरण सन् २०२९ देखि २०३२ सम्म सञ्चालन हुने छ, जसमा प्रारम्भिक आवास प्रणाली, ऊर्जा तथा सञ्चार पूर्वाधार स्थापना गरिने छ । तेस्रो चरण सन् २०३२ पछि सुरु हुने छ, जस अन्तर्गत चन्द्रमामा स्थायी मानव उपस्थिति कायम गर्ने तथा त्यहाँ उपलब्ध स्रोत–साधनको उपयोगका लागि प्रविधि थप सुदृढ बनाइने लक्ष्य राखिएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवलाई लक्षित क्षेत्रका रूपमा छनोट गर्नुको मुख्य कारण त्यहाँ लामो समयसम्म सूर्यको प्रकाश उपलब्ध हुनु रहेको नासाले जनाएको छ । यसले सौर्य ऊर्जा उत्पादनमा सहजता ल्याउनुका साथै सतहमा सञ्चालन हुने कार्यका लागि स्थिर तापीय अवस्था प्रदान गर्ने विश्वास गरिएको छ ।

वैज्ञानिक दृष्टिले पनि उक्त क्षेत्र अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यो क्षेत्र सौर्यमण्डलकै सबैभन्दा पुरानो भू–भाग तथा ठुलो ‘इम्प्याक्ट बेसिन’ नजिक अवस्थित रहेको बताइएको छ । यहाँबाट सङ्कलन गरिने नमूनाले चन्द्रमा, पृथ्वी तथा सौर्यमण्डलको प्रारम्भिक विकासक्रमबारे नयाँ तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ ।

नासाका अनुसार ‘मून बेस’ विज्ञान, प्रविधि प्रदर्शन तथा अन्तरिक्ष अन्वेषणको प्रमुख केन्द्र बन्ने छ । यसले भविष्यका गहिरो अन्तरिक्ष अभियानका लागि आवश्यक प्रविधि विकास गर्न सहयोग गर्नुका साथै उदीयमान चन्द्र–अर्थतन्त्रलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

यस बृहत् परियोजनाको सफल कार्यान्वयनका लागि व्यावसायिक साझेदार तथा अन्तर्राष्ट्रिय सहयोगीहरूको भूमिका निर्णायक हुने नासाले जनाएको छ । (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)

तपाईको प्रतिक्रिया