नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली

  १४ घण्टा अगाडि

साझाखबर, बेइजिङ

चीनका लागि नेपाली राजदूतावासले विश्व ध्यान दिवस डिसेम्बर २१ लक्षित आध्यात्मिक पर्यटन सम्बन्धी योग तथा ध्यानमूलक कार्यक्रमको आयोजना गरेको छ । ९ तारिख मङ्गलबार बेइजिङस्थित नेपाली दूतावासको प्राङ्गणमा नेपालबाट आएका योगी रमेश सिटौला अर्थात् ‘अमर गुरू’ले चिनियाँहरूलाई ध्यान तथा योगमा एकाग्र बनाएका थिए । डेढ घण्टा लामो कार्यक्रममा सिङ्गिङ बाउलको धुनमा मग्न भएर चिनियाँहरूले नयाँ उर्जा प्राप्त गरेको प्रतिक्रिया दिए ।

कार्यवाहक राजदूत रोशन खनालले विश्व स्वास्थ्य संगठनले गत वर्ष २०२४ देखि विश्व ध्यान दिवस मनाउन आह्वान गरेर अनुरुप यो वर्ष कार्यक्रम गरिएको बताइन् । सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्षको रूपमा मनाइँदै गरेको भन्दै उनले नेपालको परिदृश्य योग र ध्यान गर्न चाहनेहरू तथा शान्त वातावरणमा आयुर्वेद र स्पा उपचार अनुभव गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य भएको बताइन् ।

यस वर्ष कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइरहे तापनि चीन नेपाल बीच तेस्रो शताब्दी देखिको पुरानो भएको भएको खनालको ठहर थियो।

इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालमा आध्यात्मिक पर्यटन विषयक प्रस्तुतीमा योगको आरम्भदेखि काठमाण्डौँमा आध्यात्मिक पर्यटनका लागि चिनियाँहरूलाई आग्रह गरिन्।

अमर गुरू सन् २०१२ देखि निरन्तर रूपमा योग र ध्यान कार्यक्रमका लागि चीन आउनेजाने गरेका छन् । चीन र चिनियाँ समाजमा योग दर्शन र योग फैलाउँदै दुई देशबीच जनस्तरीय सम्बन्धमा योगदान पुर्याएका छन्।

फोटो फिचर

तपाईको प्रतिक्रिया