पेरुकी राष्ट्रपति बोलुआर्तेलाई कङ्ग्रेसद्वारा पदबाट हटाउने निर्णय

  १२ घण्टा अगाडि

दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ ।

सांसदहरूले सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग–अलग प्रस्तावलाई अनुमोदन गरेका थिए । एक सय ३० सदस्यीय एकसदनीय कङ्ग्रेसमा प्रत्येक प्रस्तावले आवश्यक न्यूनतम ५६ मतभन्दा बढी प्राप्त गरेपछि राष्ट्रपति पदमाथि बहस र महाभियोग प्रक्रियाको बाटो खुलेको थियो । त्यसपछि सांसदहरूले राष्ट्रपति बोलुआर्तेलाई आफ्नो पक्षमा बचाउ गर्न मध्यरातअघि उपस्थित हुन औपचारिक अनुरोध गरे । अन्ततः १२४ सांसदले महाभियोगको पक्षमा मतदान गरे ।

यो निर्णय राजधानी लिमामा आयोजित एक लोकप्रिय कन्सर्टमा गोली चल्दा पाँच जना घाइते भएपछि आएको हो । सो घटनाले देशभर अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनाएको थियो । यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठवटा प्रयास असफल भएका थिए, तर यस पटक करिब सबै दलले महाभियोगको पक्षमा समर्थन जनाए ।

संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ — यही प्रावधान प्रयोग गरेर सन् २०२२ डिसेम्बरमा उहाँका पूर्ववर्तीलाई पनि संसदले पदच्युत गरेको थियो ।

राष्ट्रपति बोलुआर्ते हाल बढ्दो अपराध, विशेष गरी हत्या र जबरजस्ती असुलीको घटनाले त्रस्त देशमा नियन्त्रण स्थापित गर्न सङ्घर्षरत हुनुहुन्थ्यो । बुधबार मात्रै उहाँले अपराध वृद्धिको एक कारणका रूपमा अवैध आप्रवासनलाई दोष दिनुभएको थियो ।

उहाँले एक सैन्य समारोहमा भन्नुभएको थियो, “यो अपराध दशकौँदेखि बढ्दै आएको छ र अवैध आप्रवासनले यसलाई झनै बलियो बनाएको छ । विगतका सरकारहरूले यस समस्यालाई नियन्त्रण गर्न सकेनन्, बरु सिमाना खुला गरेर अपराधीहरूलाई देशभर पस्ने अनुमति दिए ।”

आधिकारिक तथ्याङ्कअनुसार यस वर्ष जनवरीदेखि अगस्टको मध्यसम्म छ हजार ४१ जनाको मृत्यु भएको छ । यो सन् २०१७ पछि सोही अवधिमा सबैभन्दा उच्च सङ्ख्या हो । त्यस्तै, जनवरीदेखि जुलाईसम्म १५ हजार ९८९ जबरजस्ती असुली (फिरौती) का उजुरी दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढी हो ।

बुधबार राति देशको लोकप्रिय कम्बिया सङ्गीत समूह ‘अगुआ मरिना’ को कन्सर्टमा भएको गोलीकाण्डपछि स्थिति झन् जटिल बनेको थियो । पाँच जना घाइते भएपछि सरकारमाथि जनआक्रोश चुलिएको र संसद्ले तत्काल कदम चाल्नुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री एडुआर्डो अरानाले बिहीबार संसद्मा अपराध–केन्द्रित विशेष सुनुवाइका क्रममा राष्ट्रपतिलाई बचाउने प्रयास गर्नुभयो । तर उहाँको व्याख्याले सांसदहरूलाई विश्वस्त पार्न सकेन । अरानाले भन्नुभयो। “संसद्को चिन्ता महाभियोगको प्रस्ताव पास गरेर समाधान हुँदैन । हामी आफ्नो भूमिकामा अडिग छौँ र हामीलाई सुरु दिनदेखि नै थाहा थियो — हाम्रो पहिलो दिन नै अन्तिम दिन पनि हुन सक्छ ।”

राष्ट्रपति बोलुआर्तेलाई सत्ताबाट हटाउने यो कदमले पेरुमा राजनीतिक अस्थिरता फेरि एकपटक गहिरो बनाएको छ । अपराध नियन्त्रण, आप्रवासन नीति र शासन क्षमताप्रतिको विवादले देशलाई नयाँ अनिश्चिततामा धकेलेको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।
रासस

तपाईको प्रतिक्रिया