होटल सङ्घद्वारा सुरक्षार्थ तोकियो संयोजक

  ८ घण्टा अगाडि

गण्डकी, २३ असोज : पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल सङ्घ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरूलाई लक्षित गरी संयोजक तोकिएका छन् ।

यस क्षेत्रका विभिन्न २८ वटा गल्ली (स्ट्रिट) र छ वटा टोललाई लक्षित गरी संयोजक तोकिएको र ती संयोजकले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी आफ्ना उपसमितिहरूलाई पूर्णता दिने सङ्घले जनाएको छ ।

उल्लेखितस्थल बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमासमेत यस्ता संयोजक तोकिएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो ।

जेनजी आन्दोलनपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानैलयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलवासीको सुरक्षाको लागि संयोजक तोकेर अगाडि बढिएको उहाँले बताउनुुभयो ।पर्यटन क्षेत्रमा चोरीका घटना पनि फाट्टफुट्ट देखिन थालेको उल्लेख गर्दै उहाँले आँफूहरूको अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्बन्धित रहेको बताउनुुभयो ।

व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिनसमेत आफूहरु एकजुट भएको उहाँको भनाइ छ । सबै होटल र टोलका सिसीटिभी क्यामेरा चालु अवस्थामा राख्ने, बिग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक बत्तीको मर्मतसम्भार गर्ने र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्नसमेत तोकिएका संयोजक र उपसमितिले सघाउने सङ्घले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया