टी–२० विश्वकप : तेस्रो पटक छनोट हुने नेपालको लक्ष्य

  १० घण्टा अगाडि

काठमाडौँ, २१ असोज : सन् २०२६ मा आयोजना हुने आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल बुधबारदेखि ओमानमा सुरु हुँदैछ ।

नेपाली टोली युएईमा वेस्ट इन्डिजसँगको सिरिज जितेर र ओमानमै कतारसँग दुई अभ्यास खेल जितेर उच्च मनोबलका साथ ओमानमा छ । नेपालले बुधबार कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवात गर्ने छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । नेपालले कुवेतसँग विभिन्न प्रतियोगिता खेल्दै मिश्रित नजिता निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ ।

नेपालीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज र कतारसँगको खेलले खेलाडीमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने जोस बढेको बताउनुभएको छ । उहाँले नेपालको एउटै लक्ष्य विश्वकपमा छनोट हुनु रहेको पनि बताउनुभयो । 

नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेको थियो । 

अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुने एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा हुने छ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।

जसमा समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । 

सन् २०२६ मा भारत र श्रीलङ्काल संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ । हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन् । 

अब एसिया महादेशबाट तीन टोलीको टुङ्गो लाग्न बाँकी छ । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्ने छन् । 

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन् । 

यस्तै अफ्रिकाबाट जिम्बावे र नामिबियाले विश्वकप यात्रा पक्का गरेका छन् । विश्वकप आयोजक भारत र श्रीलङ्का आयोजकका हिसाबले सिँधै छनोट भएका छन् । थप आठ टोली अघिल्लो विश्वकपको सुपर आठमा पुगेर सिँधै छनोट भएका हुन् ।

जसमा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अमेरिका, अफगानिस्तान र बङ्गलादेश छन् । यस्तै आइसिसीको वरीयताको आधारमा पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड विश्वकपमा छनोट भएका छन् । यी तीन टोली अघिल्लो विश्वकपको सुपर आठमा रहन सकेका थिएनन् ।

यस्तै विश्वकपमा युरोपबाट नेदरल्यान्ड्सले विजेता र इटालीले उपविजेता बन्दै विश्वकपमा स्थान पक्का गरेको छ । इटालीले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिकी छनोटबाट क्यानाडाले विश्वकपमा स्थान पक्का गरेको छ ।  

सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपमा पहिलो पटक २० टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि विश्वकपमा सन् २०१२ सम्म १२ र सन् २०१४ देखि २०२२ सम्म १६ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए । सहभागी सङ्ख्या बढेसँगै अबको विश्वकपमा ५५ खेल हुने छन् ।

विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिने छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्ने छन् । फेरि सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिने छ । जसबाट चार टोली सेमिफाइनलमा पुग्ने छन् ।

हालसम्म भारत, वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई दुई पटक विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक एक पटक उपाधि चुमेका छन् ।

यस्तै पाकिस्तान र श्रीलङ्का दुई पटक तथा अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका एक एक पटक उपविजेता बनेका थिए ।

नेपाली टोली 

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम । 

तपाईको प्रतिक्रिया