माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

  ७ घण्टा अगाडि

पोखरा, ११ असोज : मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ ।

होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको बताउनुहुन्छ । सेप्टेम्बरमा ४० प्रतिशत ‘बुकिङ’ रद्द भएको उहाँले सुनाउनुभयो ।

सुवेदीका अनुसार अहिले सम्मको प्रारम्भिक अनुमानले पोखराका ठूला छ वटा होटलसहित मध्यम र सानास्तरका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी तथा पर्यटनसँग प्रत्यक्षअप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा पनि सामान्यदेखि असर परेको छ । करिब रु साढे दुई अर्ब बराबरको क्षति भएको छ । पोखराको पर्यटन क्षेत्रमा रु आठ खर्ब बराबरको लगानी भएको छ । करिब १५ हजारले रोजगारी पाएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको घटनाले अन्तरराष्ट्रियस्तरमा नै नकारात्मक सन्देश पुगेको छ तर नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड र सरोकार भएका अन्य निकायको भूमिका महत्वपूर्ण हुन्छ ।”

यसैबीच, नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि ‘आइ एम इन नेपाल नाउ’ ‘ह्यासट्याग’ अभियान सुरु गरेको छ । बोर्डले ‘रियल–टाइम स्टोरी’हरू उत्पादन गरेर सामाजिक सञ्जालमार्फत नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाहको प्रयासलाई निरन्तरता दिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया