सन्तको तपस्याबाट बनेको नमूना पुस्तकालय

  भदौ १६, २०८२

भद्रपुर (झापा), १६ भदौ : झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको एक सानो आँगनबाट थोरै पुस्तकसहित सुरु भएको त्यो यात्रा आज हजारौँ पुस्तकले सजिएको तीनतले सुन्दर भवनसम्म आइपुगेको छ । नून, अन्न र चप्पल त्यागी गेरुवा बस्त्रमा खाली खुट्टा हिँड्ने एक सन्तको सपना थियो— ज्ञानको दैलो सबैका लागि खोल्ने ।समाजले सुरुमा बौलाहा भन्यो, मगन्ते भन्यो, तर वर्षौँको त्याग र तपस्याले त्यसैलाई देशकै उत्कृष्ट पुस्तकालयमा रूपान्तरण गरिदियो । विसं २०५३ को नयाँ वर्षको बिहान धुलाबारी माविको प्राङ्गणमा केही पुस्तक राखेर सुरु गरिएको पुस्तकालय, त्यसपछि भाडाका कोठाबाट अघि बढ्दै, अन्ततः आफ्नै जग्गामा टेकेर आजको स्वरूपमा आइपुगेको हो । यसमा सामान्य परिवारमा जन्मिएका प्रेमप्रकाश पोखरेलको महत्वपूर्ण योगदान रह्यो । जसले नून, अन्न र जुत्ता–चप्पल परित्याग गरेर गेरुवा बस्त्र धारण गरेपछि उनी फलाहारी नामले चिनिन थाले ।

संस्थापक प्रेमप्रकाश ‘फलाहारी’सँगै कुलबहादुर भण्डारी, मोहनकुमार खड्का, भक्तिप्रसाद सिवाकोटी र पण्डित विष्णु पराजुली यस यात्राका अग्रपङ्क्तिका पात्र हुन् । पक्कै पनि सुरुका दिन सजिला थिएनन् । फलाहारीलाई कसैले बौलाहा भने कसैले मगन्ते । छोराछोरी पाल्न सक्दैन, आफ्नै मोजमस्ती गर्छ भन्ने आरोप पनि खेप्नुप¥यो । तर, उनले कुनै आरोपप्रति जवाफ दिएनन् । बरु, गेरुवा बस्त्रमा अन्न, नून र चप्पल त्यागेर देशभर खाली खुट्टा पैदलयात्रा गर्दै पुस्तकालयको लागि हात फैलाइरहे ।

दानवीरहरुको हातले बनेको धरोहर

प्रेमप्रकाश फलाहारीले जीवनका तीन दशक पुस्तकालयकै नाममा अर्पण गरेका छन् । नून, अन्न र जुत्ता–चप्पल परित्याग गरेर गेरुवा बस्त्रमा देशभर पैदलयात्रा गर्दै उनले लागुपदार्थविरुद्ध जनचेतना फैलाउनुभयो र धार्मिकस्थलको प्रचार गर्नुभयो । तर उहाँको ठूलो सपना पुस्तकालय नै थियो । उहाँ भन्नुहुन्छ, “पूर्खाले आर्जेको ज्ञान पुस्तकमा हुन्छ । त्यसको अध्ययन–पठनमै जीवनको प्रकाश छ ।” एक व्यक्तिको एक्लो प्रयासले विभिन्न स्रोत जुटाउँदै यतिसम्मको पुस्तकालय स्थापना गर्नु निकै चुनौतीपूर्ण काम भएको स्थानीय पत्रकार देवेन्द्रकिशोर ढुङ्गाना बताउनुहुन्छ । राज्यले नियमित रुपमा आर्थिक सहयोग गर्ने हो भने त्रिफला पुस्तकालय चलायमान बनाउन सहज हुने उहाँको भनाइ छ । साथै, विद्यार्थी, पत्रकार, युवायुवतीलगायत अन्य व्यक्तिलाई पुस्तकालयमा नै गएर पठन संस्कृतिको विकास गर्नुपर्नेमा पत्रकार ढुङ्गानाले जोड दिनुभयो ।

त्रिफला राष्ट्रिय पुस्तकालय केबल पुस्तक राख्ने ठाउँ होइन, यो त्याग, श्रम र तपस्याले टल्किएको एउटा ज्योति हो । समाजले सुरुमा हेला गरेको त्यो बौलाहा–मगन्ते सन्तले देखाएको बाटोले आज सम्पूर्ण नेपालीलाई गौरवको अनुभूति दिलाएको छ । त्रिफलाको कथा यसैलाई सम्झाउँछ, “सपना ठूलो भए पुस्तक मात्र होइन, पुस्ता उज्यालो बनाउन सकिन्छ ।”त्रिफलाको यात्रामा राष्ट्रगुरु योगी नरहरिनाथको जीवन–आदर्श प्रेरणा बनेको फलाहारी बताउनुहुन्छ । जग्गादाता टीकाराम अर्याल, साहित्यकार छत्रबहादुर बस्नेत, दाताहरु गणेशबहादुर प्रसाइँ, प्राडा गोविन्दराज भट्टराई, हरिभक्त बुढाथोकीलगायतले आ–आफ्नो सामथ्र्यअनुसार सहयोग गर्नुभयो । कसैले जग्गा उपलब्ध गराउनुभयो, कसैले पुस्तक त कसैले आर्थिक हिसाबले सहयोग गर्नुभयो । फलाहारी भन्नुहुन्छ “यी सबै सच्चा भगवानकै अवतार हुन् । उहाँहरुको नाम म आज पनि दैनिक जप्छु । उहाँहरुको सहयोग नभएको भए सायद पुस्तकालय यो अवस्थामा आइपुग्दैन्थ्यो ।” यिनै दानवीरका कारण त्रिफला आज कोशी प्रदेशको मात्र नभइ देशकै नमूना पुस्तकालय बनेको छ ।

भौतिक संरचना ः एउटा पुस्तकालयभन्दा बढी

फलाहारीका अनुसार त्रिफलाचोकमा रहेको पुस्तकालय दुई कठ्ठा पाँच धुर जग्गामा फैलिएको छ । ३२ सय वर्गफुट क्षेत्रफलमा बनेको तीन तले पक्की भवन आकर्षक र व्यवस्थित छ । पहिलो तलामा पुस्तकालय, वाचनालय र कार्यालय छन् । प्रवेशद्वारमै सरस्वती मन्दिर छ, जहाँ दैनिक पूजा हुन्छ । दोस्रो तलामा फराकिलो सभाहल छ, जहाँ साहित्यिक, शैक्षिक र सांस्कृतिक कार्यक्रम निरन्तर हुने गर्दछ । तेस्रो तलामा नौ कोठे अन्तरराष्ट्रिय अतिथि आवास बनेको छ, जसले त्रिफला पुस्तकालयलाई अन्तरराष्ट्रिय केन्द्रको स्वरूपको झल्को दिएको छ । यसैको पछाडि मोती साहित्य चौतारी भवन छ, जहाँ राष्ट्रिय विभूति मोतीराम भट्ट र समाजसेवी कवि छत्रबहादुर बस्नेतका पूर्णकदका सालिक छन् । पुस्तकालयसँगै मोती पुरस्कार कोष पनि सञ्चालनमा छ । एउटै तिथि कुशेऔँसीमा मोतीराम भट्टको जन्म र मृत्यु भएको थियो । उक्त अवसर पारी हरेक वर्ष कुशेऔँंसीका दिन नेपाली साहित्य क्षेत्रमा योग्दान पु¥याएका स्रष्टालाई सम्मान तथा पुरुस्कृत गर्ने गरिएको फलहारीले बताउनुभयो ।

ज्ञानको खजाना : पचास हजारभन्दा बढी पुस्तक

हाल पुस्तकालयमा धार्मिक, ऐतिहासिक, पुरातात्विक, शैक्षिक, साहित्यिकदेखि पत्रकारिता, विज्ञान, दर्शन र विविध भाषाका ५० हजारभन्दा बढी पुस्तक र पत्रपत्रिका रहेको फलहारी बताउनुहुन्छ । तर व्यवस्थापन सजिलो छैन । पुस्तकालयविद् र प्राविधिक कर्मचारी नहुँदा पुस्तक लथालिङ्ग छन् । कोशी प्रदेश सरकारको केही रकम अनुदानपछि मात्रै पहिलो पटक पुस्तकको ‘बाइण्डिङ’ र ‘क्याटलगिङ’ सुरु भएको हो । आर्थिक अभावका कारण नियमित कर्मचारी राख्न र पुस्तकालयलाई थप व्यवस्थित बनाउन सकिएको छैन । फलाहारी भन्नुहुन्छ, “धेरै पुराना र दुर्लभ पुस्तक छन् । तिनीहरुलाई जोगाउन व्यवस्थित र सुरक्षित पार्न जरुरी छ ।” नेपाल भारतलगायत विभिन्न ठाउँबाट दाताहरुको सहयोगमा प्राविधिक ल्याएर केही पुस्तकहरु ‘बाइण्डिङ’ र ‘क्याटलगिङ’ गरिए पनि अझै धेरै गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

त्रिफलाले पठन संस्कृतिको विकासका लागि निरन्तर काम गरिरहेको छ । साहित्यिक कार्यक्रम, वाचन प्रतियोगिता, पुस्तक प्रदर्शनीमार्फत समुदायमा पढ्ने संस्कार फैलाउन खोजिएको छ । फलाहारी भन्नुहुन्छ, “अबको पठन संस्कृति विद्युतीय पुस्तकालय र आधुनिक प्रविधिसँगै जोडिनैपर्छ । विद्यालयका शिक्षक र अभिभावकबाटै पढ्ने बानी सुरु गराउन आवश्यक छ ।” यसका लागि त्रिफलाले मेचीनगर नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीलाई पुस्तकालय भ्रमण गराउने र यहाँका गतिविधिबारे प्रत्यक्ष अवलोकन गराई पठन संस्कृतिप्रति प्रेरित गर्ने गरिएको छ । विस्तारै यसलाई जिल्लाभरिमा नै फैलाउने योजना रहेको फलाहरि बताउनुहुन्छ । किरा, धमिरा, माउ, चिसो र चोरीबाट पुस्तक जोगाउनु निकै चुनौतीपूर्ण छ । हरेक वर्ष सयौँ पुस्तक नष्ट हुने गरेको छन् । फलाहारी मुस्कुराउँदै भन्नुहुन्छ, “बरु फलामको चिउरा चपाउन सजिलो होला तर पुस्तकालय चलाउन धेरै गाह्रो रहेछ ।” यसका लागि प्राविधिक दक्षता, औषधि र व्यवस्थापन अपरिहार्य भएको उहाँ बताउनुहुन्छ ।

देशकै उत्कृष्ट पुस्तकालय

त्रिफला राष्ट्रिय पुस्तकालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७७ सालमा देशकै उत्कृष्ट पुस्तकालयको सम्मान समेत प्राप्त गरिसकेको छ । नेपाल मात्र नभइ पूर्वोत्तर भारतसम्म नेपाली भाषा, साहित्य र पुस्तकालय सेवामा पु¥याएको योगदानका कारण यो सम्मान पाएको फलहारी बताउनुुहुन्छ । मन्त्रालयले हरेक वर्ष एक पुस्तकालयलाई यस्तो सम्मान प्रदान गर्दै आएकामा उक्त सम्मान पाउनेमा त्रिफला छनोट हुनु यसको ऐतिहासिक उपलब्धिसमेत भएको उहाँको भनाइ छ ।हाल त्रिफला पुस्तकालयको नियमित आम्दानीको स्रोत केही पनि छैन । त्रिफलाको पश्चिमपट्टि खाली रहेको जमिनमा सामुदायिक भवन निर्माण गरी सटर तथा भवन भाडामा लगाई दीर्घकालीन रुपमा आयस्रोत सिर्जना गर्ने योजना रहेको फलहारी सुनाउनुहुन्छ । यसरी आउने आयबाट पुस्तकालयको खर्च—बत्ती, पानी, इन्टरनेट, फोन र कर्मचारी तलबलगायतमा खर्च व्यवस्थापन गरिने उहाँको भनाइ छ । साथै, कम्तीमा तीन प्राविधिक पुस्तकालयविद् कर्मचारीको दरबन्दी सुनिश्चित गर्न सकेमा पुस्तकालय अझै व्यवस्थित बन्न सक्नेछ ।
(रासस)

तपाईको प्रतिक्रिया