चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) को वार्षिक शिखर सम्मेलनमा चीनले एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन प्रयास गर्ने बताउनुभएको छ ।
“हाल, विश्व अवस्था अझ जटिल र अशान्त बन्दै गइरहेको छ । सदस्य राष्ट्रहरूले अझ कठिन सुरक्षा र विकाससम्बन्धी जिम्मेवारीको सामना गरिरहेका छन्”, सीले फोरममा आफ्नो प्रारम्भिक सम्बोधनमा भन्नुभयो ।
उहाँले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण दिने वाचा गर्नुभयो । यद्यपि उहाँले यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट पार्नुभयो ।
यस शिखर सम्मेलनमा सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य दर्जनौँ राष्ट्रका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
मूलतः मध्य एसियामा अमेरिकी प्रभावलाई सन्तुलन गर्न स्थापित यस समूहको आकार र प्रभाव पछिल्ला वर्षहरूमा विस्तार भए पनि, यो अझै धेरै हदसम्म सुरक्षा फोरमका रूपमा चिनिन्छ ।
बैंक र ऋण उपलब्ध गराउने प्रस्तावमार्फत सीले संस्थाको दायरा विकासतर्फ विस्तार गर्ने सङ्केत दिनुभएको छ ।
– चीनको सन्देश –
सिङ्गापुरको नेसनल युनिभर्सिटीस्थित ली कुआन येव स्कुल अफ पब्लिक पोलिसीका प्राध्यापक अल्फ्रेड वुलेका अनुसार अमेरिकाको नेतृत्वमा रहेको व्यवस्था कमजोर हुँदै गएकाले सी वैकल्पिक विश्व व्यवस्था प्रस्तुत गर्न चाहनुहुन्छ । यही नै उहाँको मुख्य सन्देश हो ।
सीले राष्ट्रहरूले ‘शीतयुद्धको मानसिकता, ब्लक–आधारित टकराव र बदमाशीको विरोध गर्नुपर्छ, संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्नुपर्छ’ भन्दै ‘समान र व्यवस्थित बहुध्रुवीय विश्व, समावेशी आर्थिक भूमण्डलीकरण र न्यायपूर्ण तथा उचित विश्वव्यापी शासन प्रणाली निर्माणमा योगदान दिनुपर्ने’ बताउनुभयो ।
यो सन्देश चीनका अघिल्ला अभिव्यक्तिबाट फरक थिएन । शीतयुद्ध मानसिकताको विरोध प्रायः अमेरिकालाई लक्षित हुन्छ । वुलेका अनुसार चीनले कहिलेकाहीँ केही संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूलाई कोष कटौती गरेको भए पनि, अहिलेको अवस्थामा यसको स्थिरता नै सन्देश हो ।
सन् २००१ मा स्थापना भएको एससिओमा अहिले रुस, बेलारुस, चीन, भारत, इरान, कजाकिस्तान, किर्गिजस्तान, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान सदस्य छन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने दक्षिणपूर्व एसिया र मध्यपूर्वका १४ राष्ट्र ‘संवाद साझेदार’ का रूपमा संलग्न छन् ।
यस वर्षको शिखर सम्मेलन चीनले आयोजना गर्ने योजनाबद्ध सैन्य परेडको केही दिनअघि भइरहेको छ, जसलाई बेइजिङले आफ्ना सहयोगी तथा छिमेकीलाई आमन्त्रित गर्ने अवसरको रूपमा लिएको छ ।
– द्वन्द्वमा ध्यान केन्द्रित –
आइतबार सीले भारतीय प्रधानमन्त्री मोदीसँग भेटेर सीमा विवादबारेका मतभेद समाधान गर्ने वाचा गर्नुभयो । यी विवादहरूले सन् २०२० मा सम्बन्धमा तनाव ल्याएका थिए, जसमा लद्दाख, अरुणाचल प्रदेश र भुटान नजिकका विभिन्न क्षेत्रमा सीमा असहमति छन् ।
पुटिनले आइतबार सीसँग भेटेर मङ्गलबार हुने द्विपक्षीय वार्ताअघि कुराकानी गर्नुभएको थियो । उहाँले भन्नुभयो, “अलास्कामा हालै सम्पन्न उच्चस्तरीय रुसी–अमेरिकी शिखर सम्मेलनले युक्रेनमा शान्तिको बाटो खोल्दै अघि बढेको छ भन्ने मलाई आशा छ ।”
हालै चीन–रुसको विकाससम्बन्धी सन्देश विशेषरूपमा प्रबल बनेको छ । चिनियाँ आधिकारिक समाचार एजेन्सी सिन्ह्वासँगको अन्तर्वार्तामा पुटिनले दुवै देश ‘भेदभावपूर्ण प्रतिबन्धहरूको विरोधमा’ रहेको बताउनुभयो । उहाँका अनुसार, यस्ता प्रतिबन्धहरूले विश्वको सामाजिक–आर्थिक विकासमा ठूलो आघात पुर्याएका छन् ।
पुटिनले रुस र चीनले मिलेर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमफ) र विश्व बैंकको सुधारलाई समर्थन गर्ने बताउनुभयो । उहाँले भने, “वित्तलाई नव–उपनिवेशवादको साधनका रूपमा प्रयोग गर्ने प्रथालाई अन्त्य गर्न आवश्यक छ, किनभने यसले विश्वको बहुमत राष्ट्रको हितविपरीत काम गर्छ ।”
– सुरक्षा अझै प्राथमिकता –
चीनले एससिओलाई विश्वस्तरमा प्रभावकारी मञ्च बनाउन चाहे पनि यसको वास्तविक प्रभावकारिता अझै प्रश्नमा छ । विगतमा यस सङ्गठनको प्राथमिकता सधैँ सुरक्षा रहँदै आएको छ, जसले ‘तीन शक्ति’ – आतङ्कवाद, पृथकतावाद र चरमपन्थ – विरुद्ध लड्ने दाबी गरेको छ ।
तर आलोचकहरूले भने यसलाई फरक तरिकाले हेर्छन् । “एससिओको आतङ्कवाद विरोधी अभ्यासले वास्तविक आतङ्कवादसँग जुध्ने भन्दा पनि प्रायः अधिनायकवादी शासनलाई खतराबाट जोगाउने काम गर्छ”, दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेरेक ग्रसम्यानले भन्नुभयो, “प्रतिस्पर्धी सङ्गठनहरू पनि छन् । ब्रिक्स समूहसँग प्रमुख अर्थतन्त्रहरू जोडिएकाले पश्चिमसँग प्रतिस्पर्धामा त्यसलाई बढी सम्भावना छ ।”
“यद्यपि एससिओ शिखर सम्मेलनको प्रभाव र पहुँच सीमित नै रहन सक्छ, तर एउटा कुरा प्रष्ट छ– चीन अहिले कूटनीतिक उत्थानमा छ भने अमेरिका आत्मविनाशको बाटोमा छ”, ग्रसम्यानले निष्कर्ष निकाल्नुभयो ।
(रासस)