वीरगञ्जमा दाेस्राे सङ्क्रमित महिलाको मृत्यु, यो महिना १२ को ज्यान गयो

  साउन १७, २०७७

वीरगञ्ज, साउन १७ : शनिबार साँझ ६ बजे वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार राति अबेर आएको पीसीआर रिपाेर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीय महिलालाई शुक्रबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने शनिबार छ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई डिस्चार्ज भएपछि कोभिड अस्पतालमा ल्याउने तयारी गर्दागर्दै महिलाको मृत्यु भएको डा. सिंहले बताउनुभयो ।

यसअघि वयोधा अस्पतालमा नै उपाचारत वीरगन्ज–१६, नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो भने उनको शुक्रबार राति अबेर मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेकी ती महिलालाई निमोनियाजस्तो देखिने लक्षण देखिएपछि महिलालाई उपचारको लागि साउन १४ गते गण्डकको वयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो तर साउन १६ गते बिहान सवा १० बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

योसँगै पर्सा जिल्लामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । साउन १ गतेदेखि हालसम्ममा १२ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

छ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेको उपचारपश्चात कोरोनामुक्त भएर छ जना डिस्चार्ज भएका छन् । अस्पतालका ईन्चार्ज डा. निरजकुमार सिंहले आज शनिबार कोरोनालाई जितेर सङ्क्रमण मुक्त भएका छ जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएपछि साउन ७ गते कोभिड अस्पताल भर्ना भई उपचार गराइरहेका एक् जना र साउन ८ गतेदेखि अस्पतालमा उपचार गराइरहेका पाँच जना आज शनिबार डिस्चार्ज भएको डा. सिंहले जानकारी दिनुभयो । डिस्चार्ज भएकाहरूमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरी उपचार थालिएको डा. सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया