सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

  ५ घण्टा अगाडि

बैतडी, १२ भदौः सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ ।

विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।

यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यस पर्वको पहिलो दिन घर–घरमा तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।

गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । पहिलो दिन महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ । दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रूपमा बिरुडा धोइन्छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाहरूले दुबधागो चढाउने प्रचलन छ । चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरूले बताउने गरेका छन् । सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् ।

महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेशअनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रही आएको छ । यसैबीच, गौरा पर्व गाउँघरमा चहलपहल पनि बढेको राससले जनाएको छ । पर्व मनाउन रोजगारीका लागि देशबाहिर रहेकाहरू घर फर्किने थालेका छन् ।

तपाईको प्रतिक्रिया