यसरी हट्न सक्छ छाउप्रथा

  ९ घण्टा अगाडि

अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन् भन्ने डरले उनी घरमा सुत्न सकिनन् । छाउ अर्थात् महिनावारीमा गोठमा सुत्ने र समस्या भोग्ने कमला जस्ता धेरै महिला छन् ।

महिनावारी नितान्त महिलासँग सम्बन्धित विषय हो । महिनावारीको समयमा छोइछिटो बार्दा महिलाले नै समस्या भोगेका छन् । तर, पनि महिलाले नै अपनाएका छन् र अपनाउन सघाइरहेका छन् । सुदूरपश्चिमका ग्रामीण भेगमा महिनावारीमा सुत्न छाउ गोठ नै बनाइएका छन् । बेलाबेलामा सामाजिक अभियन्ताहरुले छाउ गोठ भत्काउँछन्, फेरि स्थानीयले बनाउँछन् । धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ । अन्य क्षेत्रमा कतै घरभित्र त कतै बाहिर बसेर छाउ अर्थात् महिनावारीमा छुइप्रथा मानिरहेका छन् । घर बाहिरका छाउ गोठ भत्किए पनि मनभित्र बनेका छाउ गोठ भत्किएका छैनन् । छाउप्रतिको सोच बदलिएका छैनन् । धर्म र परम्पराका नाममा जकडिएर बसेका छन् । यसैले हिन्दू धर्म मान्ने धेरै महिलाहरु आफूलाई समस्यामा राखेर पनि यो वा त्यो नाममा महिनावारीमा छुइ बार्ने र अछूत बन्ने गरिरहेका छन् ।

छाउ प्रथाबारे सर्वोच्च अदालतले करिब २० वर्षअघि अर्थात् २०६२ वैशाख १९ गते सरकारका नाममा आदेश नै जारी गरेको थियो । त्यसमा पश्चिम नेपालमा व्याप्त छाउ प्रथालाई कुरीति घोषणा गरी अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश दिइएको थियो । तर, छाउ गोठबारे सम्बन्धित निकायले चासो नदिएपछि किशोरीहरु महिनावारीमा छाउ गोठमा बस्ने र ज्यान गुमाउने भइरह्यो । यस्तो क्रम बढेपछि २०७६ सालमा गृह मन्त्रालयले छाउ गोठ भत्काउन र छाउको पक्षमा उभिनेलाई कारबाही गर्न नै निर्देशन दिएको थियो । कतिपय स्थानीय तहले छाउ गोठमा बसाल्नु कानुन विपरीत ठहराउँदै त्यस्तालाई राज्यबाट दिने सुविधाबाट पनि वञ्चित गरेका छन् । तर, मानिसका मनमा बसेको छाउ अर्थात् महिनावारीप्रतिको धारणा धेरै फेरिएको छैन ।

महिनावारी जैविक प्रक्रिया हो । जुन महिलाको प्रजनन क्षमतासँग सम्बन्धित छ । किशोरी उमेर सुरु भएपछि महिलाको प्रजनन् क्षमता रहँदासम्म महिनावारी कायम रहन्छ । महिनावारी महिलाको प्रजनन् प्रणालीको नियमित चक्र हो । महिनावारीको बेला प्रजनन्योग्य अण्डा फुटेर पाठेघरको भित्तामा भएको रगत र तन्तुहरू शरीरबाट बाहिर निस्कने हो । यही प्रक्रियामा निस्कने रगतलाई अशुद्ध मानेर महिनावारीमा छोइछिटो बार्ने चलन सुरु भएको हो । महिनावारी बार्ने चलन हिन्दू धर्मसँग सम्बन्धित छ । त्यो पनि धार्मिक रुपमा शक्तिशाली मानिने हिन्दू धर्मका देवीका बारेमा चर्चा गर्दा उनीहरु महिनावारी भएको चर्चा कतै छैन । लक्ष्मी, सरस्वती, दुर्गालगायतका शक्तिशाली देवी महिनावारी भएको वा त्यस्तो बेला कुनै सभा रोकिएको कतै उल्लेख छैन । मनुस्मृतिमा आएर मात्रै महिनावारीको चर्चा छ । जसमा महिनावारीको समयमा पाँच दिन अलग बस्नुपर्ने र कसैसँगै सुत्न नहुने भनिएको छ । महिनावारीको पाँच दिनसम्म स्नान, जप, हवन वा धार्मिक काम गर्नु हुँदैन भनिएको छ । धर्मशूत्रमा पनि महिनावारीलाई अपवित्र मान्ने, धार्मिक काममा निशेध गर्ने, छोइछिटो गर्ने र अलग्गै बस्नुपर्ने नियम उल्लेख छ ।

ऋषिपञ्चमी कथामा महिनावारी नबार्दा महिला आफूले पाउने समस्या मात्र होइन, आफ्ना पति र सन्तानले व्यहोर्नु पर्ने पापबारे उल्लेख गरिएको छ । यसले महिलालाई महिनावारीको समयमा अछुत ठान्दै धार्मिक, सामाजिक र पारिवारिक जीवनबाट अलग बस्नुपर्ने नियममा बाँधेको छ । अशिक्षित मात्र होइन, कतिपय शिक्षित महिलाहरु पनि धर्म नाश हुने डरले छुइप्रथा अपनाइरहेका भेटिन्छन् । गाउँ मात्र होइन, शहरका महिला पनि महिनावारीमा छोइछिटो बारेका हुन्छन् ।

पछिल्लो समय प्रश्न उठेको छ, महिलाहरु आफैँलाई पीडा दिदै र समस्या भोग्दै महिनावारी तथा छाउ किन बार्छन् ? यसको सोझो उत्तर हो, अधिकांश महिलाले धर्मलाई आफू र आफ्नो परिवारको रक्षा कवजका रुपमा लिन्छन् । धर्म कथालाई मार्गदर्शन मान्छन् । त्यसको पालना नगरे पाप लाग्छ भन्ने ठान्छन् । धेरैजसो धार्मिक नियम महिलामा केन्द्रीत छन् । तिनका नियम मिचे आफूभन्दा त्यसको पापबाट पति वा सन्तानलाई अशुभ हुने लेखिएको हुन्छ । अधिकांश महिला आफूभन्दा आफ्नो परिवार, पति र सन्तानलाई धेरै माया गर्छन् । आफ्ना कारण आफ्ना प्रियजनलाई केही हुने पो हो कि भन्ने डरले महिलाहरु आफूलाई समस्या भए पनि धार्मिक नियममा बाँधिइरहेका हुन् । यही प्रभाव महिनावारीमा पनि देखिएको हो । महिनावारीमा छाउ नबसे वा अछुत व्यवहार नगरे धर्म नासिने र परिवार एवं सन्तानलाई आपत आइलाग्ने डर देखाइएको छ । यही डरले महिलाहरु समस्या भोगेरै भए पनि महिनावारी बारी रहेका छन् ।

महिलाहरु पुरुषको तुलनामा धेरै भावनात्मक रुपमा संवेदनशील हुन्छन् । यही देखेर होला समाजले पनि सीप र शिक्षायुक्त होइन, धर्म र परम्परा मान्ने महिलालाई असल छोरी, बुहारी, आमा र पत्नीको दर्जा दिने गरेको छ । राम्रो नराम्रो जे भए पनि धार्मिक परम्परा वा संस्कार मान्नेलाई शालिन र आदर्शको महिलाको रुपमा चित्रण गर्ने गरेको छ । जीवनमा आइपर्ने समस्या कर्म गरेर भन्दा भगवान र कुलपितृ पुकारेर र पूजा गरेर समाधानको प्रयास गर्न सिकाएको छ । धर्मपालन गर्नु कर्तव्यका रुपमा सिकाएको छ । यसको प्रभावले महिनावारीमा छुइप्रथा हट्न र छाउ गोठ भत्कन नसकेको हो ।

सामान्यतया धर्म भनेको धारण गर्ने कुरा हो । अदृश्य रुपमा धारण गरिएको कुरा धारणा हो । यसले जीवन जीउने कला सिकाउँछ । पुरानो धारणा फेर्न नयाँ धारणा चाहिन्छ । छाउ अर्थात् महिनावारीको सन्दर्भमा कानुन बन्यो तर, धारणा फेर्ने काम गरिएन । यसैले कागजमा कानुन बन्यो दृश्यमा छाउ गोठ भत्किए तर मनका छाउ भत्किएनन् । छाउप्रतिको धारणा फेर्न मानिसमा सामाजिक जागरण चाहिन्छ, उत्प्रेरणा चाहिन्छ । छाउ नबार्दा अनिष्ट हुन्छ भनेर बसेको गहिरो भावना फेर्न केही हुन्न भन्ने बलियो आत्मविश्वास चाहिन्छ । त्यो आत्मविश्वास धार्मिक, सामाजिक र राजनीतिक रुपमा अगाडि बढेका व्यक्तिले देखाउनुपर्छ । समयअनुसार धार्मिक व्याख्या गरिनुपर्छ । समयअनुसार सामाजिक चेतना प्रवाह र आत्म जागरणका कार्यक्रम गरिनुपर्छ । त्यसमा राजनीतिक सामाजिक र धार्मिक अगुवा चुकेका छन् ।

प्रथा वा परम्परा कुनै व्यक्ति, क्षेत्र वा समुदायका संस्कार हुन् । तर, जुन प्रथा वा परम्पराले समाजमा विकृति ल्याउँछ । अधिकांशको अहित हुन्छ । सामाजिक भेद्भाव ल्याउँछ । त्यस्तो प्रथा वा परम्परा कुप्रथा हो । यसलाई बचाउने होइन त्याग्नुपर्छ । राज्य अभिभावक हो । सरकार नागरिकको सारथी हो । यसैले छाउप्रथा कुप्रथा हटाउन सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ । कानुनी, धार्मिक र सामाजिक जागरणका काममा सरकार अगाडि लाग्नुपर्छ । त्यसमा तीन तहकै सरकार चुकेका छन् ।

भौतिक पूर्वाधार बलियो बनाउन खटेका सरकार अब कुरीति फेर्न नागरिकको मन बलियो बनाउने अभियानमा जुट्नुपर्छ । लामो समयदेखि मनमा बसेको छाउप्रतिको डर हटाउन नागरिक अभियान चलाउनुपर्छ । निडर अभियन्ता खोज्नुपर्छ । अभियानमा छाउप्रथा नमान्ने सामाजिक, धार्मिक र राजनीतिक खटाउनुपर्छ । ताकि तिनलाई हेरेर र देखेर सर्वसाधारण महिलाले मनको छाउगोठ भत्काउन सकून्, महिनावारीमा छोइछिटो त्याग्न सकून् । महिनावारी नबार्दा अनिष्ट हुने डरले समस्या भोगेकाले केही हुन्न भन्ने आत्मविश्वास भर्न सकून् । यो काम जहिलेबाट सुरु हुन्छ छाउगोठ र महिनावारीमा छुइप्रथा व्यवहारमै हराउने छ । छाउप्रथा वा महिनावारी कुप्रथाको मारमा परेका महिलाले उन्मुक्ति पाउनेछन् ।

तपाईको प्रतिक्रिया