काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनि गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरुले बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदहरुले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गर्नुभयो । प्रतिनिधिसभा सदस्य तारा लामाले नेपालको लिपुलेख भएर भारत र चीनले व्यापार गर्ने विषय नेपाललाई कुनै पनि हालतमा मान्य नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लिपुलेक नेपालको अभिछिन्न भूभाग हो । त्यो भूमि फिर्ताका लागि सरकारले दरिलो कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारलाई अनुरोध गर्दछु ।”
सांसद दुर्गा राई नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमानलाई आँच पुग्ने गरी भारत र चीनले नेपालको लिपुलेक प्रयोग गर्ने सहमति सम्झौता मान्य नहुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा एक पटक फेरि राष्ट्रिय सहमति कायम गरौ । भूगोलमा सानो भएपनि नेपाल सार्वभौम छ, लिपुलेकका सम्बन्धमा भारतको दाबी सत्यता र प्रमाणमा आधारित छैन, एकतर्फी कृत्रिम दाबी नेपालाई स्वीकार्य हुँदैन, यस विषयमा कूटनीतिक पहल गर्न ढिलाइ गरिनु हुन्न ।”
सांसद नारायणी शर्माले लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपालकै अभिन्न भूभाग भएकाले भारत र चीनले नेपालसँग कुनै छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग सञ्चालनका लागि भएको सहमतिलाई स्वीकार्य गर्न नसकिने बताउनुभयो । उहाँले सवै राजनीतिक दलले एउटै सङ्कल्प गरेर प्रधानमन्त्रीको नेतृत्वमा समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।
सांसद नैनकला थापाले सार्वभौम र स्वाधिन नेपालीलाई लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिले चिन्तित बनाएको बताउनुभयो । उहाँले चीन र भारतले नेपालाई हेप्ने प्रवृत्ति देखाएकाले त्यो सोच तत्काल सच्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
सांसद प्रभु हजाराले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएपनि नेपाल र भारतले नेपालसँग कुनै परामर्श नगरी त्यस क्षेत्रमा व्यापारिक नाका बनाउने निर्णय नेपालीका लागि अमान्य रहेको प्रतिक्रिया दिनुभयो ।
सांसद देवेन्द्र पौडेलले हरितालिका विशेष अवसरमा सम्पूर्ण नेपालीजनप्रति शुभकामना व्यक्त गर्दै ढोरपाटन शिकार आरक्ष जाने सडक अस्तव्यस्त रहेकाले मर्मत र सुधारका लागि ध्यानाकर्षण गराउनुभयो ।
सांसद ठाकुर गैरेले तीजका नाममा अहिले पनि कतिपय सामन्ति अवशेषका प्रवृत्तिका कारण भड्किलो, खर्चिलो, रवाफिलो बन्दै गएकाले सुधारको खाँचो औल्याउनुभयो । उहाँले सामाजिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय हितको पक्षमा सामाजिक न्याय, लोकतन्त्र, जनजिविका र सुशासनको पक्षमा तीजले एकताबद्ध तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।
सांसद नारायणप्रकाश साउदले विद्यालय शिक्षा विधेयक पारित गरे पनि सवैलाई स्वीकार्य गरी अघि बढाउन पर्ने सुझाव दिनुभयो ।
सांसद नारायणप्रसाद आचार्य पाल्पाको रामपुर खण्डको सडक, कृषि, नगदेवाली र शिक्षा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले समयमै मर्मत र सुधारका लागि अनुरोध गर्नुभयो ।
सांसद पुष्पबहादुर शाहले राष्ट्रिय परिचय पत्र बनाउन जाने क्रममा यसै साता पनि ज्येष्ठ नागरिकको लडेर मृत्यु भएकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितणको व्यवस्थाका लागि अनुरोध गर्नुभयो ।
सांसद प्रकाश ज्वालाले जाजरकोट केन्द्रवीन्दु भएर गएको भूकम्पमा सल्यान जिल्लामा पनि पूर्वाधार क्षेत्रमा ठूलो नोक्सानी भएकाले सरकारले त्यसमा समेट्न, छिटो पुनः निर्माणका कार्यक्रम सञ्चालन गर्न र जिल्लामा दमकलको व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रतिक्षा तिवारीले तीजका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै नजिकँदो चाडबाडका अवसरमा अत्यावश्यक वस्तुमा हुन क्ने मूल्यबृद्धि, कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमनको माग गर्नुभयो ।
सांसद प्रेम महर्जनले भारत र चीनसँग नेपालका घनिष्ठ सम्बन्ध रहेकाले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन दरिलो कूटनीतिक प्रयासको खाँचो औल्याउनुभयो ।
(रासस)