दुःखका आँसु

  १४ घण्टा अगाडि

प्रकाशचन्द्र खतिवडा

नितान्त फरक हुनुपर्छ
मैले लेख्ने कविता
कवितामा अलिकति आक्रोश मिसिनुपर्छ
कवितामा अलिकति क्रान्ति रोपिनुपर्छ
कवितामा अलिकति चेत पस्नुपर्छ
मेरा कवितालाई
अकविता भनिए पनि
मेरो कलमले लेख्ने कवितामा
आक्रोश र विद्रोहको स्वर उरालिनुपर्छ ।

मान्छेहरु भोकले मरिरहेछन्
मान्छेहरु शोकले तड्पिरहेछन्
मान्छेहरु रोगले झोक्रिरहेछन्
मुक्तिको बाटो खोज्न नसकी
शदियौ देखी हेपिएर
सनमान र रनमायाहरु
मिठा सपना देख्ने रातहरु गुमाउँदै
नमिठो विपनामा दिन कटाइरहेछन् ।

सनमान क्षयरोगले ग्रस्त छ
रनमाया दमले थलिएकी छ
घरबारीको ऋण निखन्न हिँडेको आइतमान
मरे बाँचेको खुट खबर छैन
छापामार युद्धमा सामेल भएकी नरमाया
युद्धबाट फर्किएकी छैन
सनमान र रनमायाको दारुण कथा हो यो
विगत सप्ताहन्तदेखि चुलो बलेको छैन
हात पाउ बसिसके
मालिक आएर धम्क्याउन छोडेको छैन ।

आइतमान बा आमाको दुःख सम्झदै
तरतरि पसिना बगाउँछ
र साउदीमा घन हान्छ
त्यहाँ उसको श्रम शोषण गरिएको छ
सम्झौता विपरीत उसलाई न्यून वेतन दिएर
पूरै तलवको भर्पाइ गराइएको छ
उसको अदालत छैन
उसको वकिल छैन
सम्झौताको कुरा उठाउँदा
उसलाई कामबाट निकाल्ने धम्कि दिइएको छ ।

नरमाया वेथान भिडन्तपछि सम्पर्कमा छैन
थुप्रै शहीद जन्मायो क्रान्तिले
शहीदको सूचीमा नरमायाको नामै छैन
बेपत्ताहरुको सूचीमा नामाङ्कित नरमायाको
अहिलेसम्म कुनै पत्तो छैन ।

बाबु आमा बाटो हेरी बस्छन्
न आइतमान आयो
न नरमाया आई
दुःखका आँसु पिएर
सनमान र रनमाया
गोधुली साँझै पिच्छे
पर चौतारी हेरी
निराशाका सुस्केरा छोड्छन् ।

संविधान लेखियो भन्छन्
मौलिक हक दिइयो भन्छन्
कसका लागि लेखियो संविधान ?
कसलाई दिइयो मौलिक हक ?
आइतमान स्वदेश फर्कन पाएन
नरमायाको जीवन कथा टुङ्गिएन
सनमान र रनमायाहरुको दुःख उस्तै छ
तिनीहरुमा कुनै खुशीयाली छाएन
संविधान र मौलिक हक
कागलाई वेल पाक्यो
हर्ष न विष्मात भएको छ ।

तपाईको प्रतिक्रिया