चीन, १६ साउन : नेपाल र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्यो । क्वाङ्चौको हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा भएको खेलमा नेपाल १ का विरुद्ध ३ गोलले पराजित भयो ।

दुवै राष्ट्रका सहभागीहरूबीच मित्रता र खेलकुद भावनाको जीवन्त उत्सव मनाइको र कार्यक्रमले नेपाल र चीनबीचको गहिरो र दिगो सम्बन्धलाई जोड दिएको आयोजकको भनाइ छ । सात दशकको कूटनीतिक सहयोगको उपलक्ष्यमा नेपाली प्रतिनिधि टोली र क्वाङ्चौको चिनियाँ टोलीबीच उत्साहजनक फुटबल खेल भयो।
महावाणिज्य दूतावासका अनुसार कार्यक्रमको सुरुवात एक औपचारिक झण्डोत्तोलन समारोहसँगै भएको थियो जसमा एकता र सम्मानको प्रतीक नेपाल र चीनको राष्ट्रिय गान बजाइएको थियो ।

क्वाङ्चौ नगरपालिकाको खेलकुद प्रशासनकी उपमहानिर्देशक लिन यानफन र कन्सुल जनरल भरत खनालले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न खेलकुदको भूमिकामा जोड दिए ।

क्वाङ्चौ प्रान्तको जनसरकारको विदेश मामिला कार्यालयको एसिया डिभिजनका निर्देशक छन छियानले कार्यक्रममा भाग लिएका थिए ।

७०औं वार्षिकोत्सवको अवसरमा केक पनि काटियो भने सामूहिक तस्बिर खिचियो। दूतावासले जारी गरेको विज्ञप्ति अनुसार ९० मिनेटको फुटबल खेलले असाधारण प्रतिभा र सौहार्दता प्रदर्शन गर्यो जसले दर्शकहरूलाई आफ्नो प्रतिस्पर्धी तर मैत्रीपूर्ण भावना जगायो । कार्यक्रम एक पुरस्कार समारोहसँगै समापन भयो, जहाँ नेताहरू र पाहुनाहरूले विजेता टोलीहरूलाई ट्रफी र पदक प्रदान गरे। उत्कृष्ट खेलाडी र शीर्ष स्कोरर सहित विशेष पुरस्कारहरू प्रदान गरियो।

कार्यक्रमले खेलकुदको विश्वव्यापी भाषा मार्फत सात दशकको कूटनीतिक सम्बन्ध मनाउन नेपाल र चीन दुवैका खेलाडीहरू, प्रतिष्ठित व्यक्तिहरू र समुदायहरूलाई एकसाथ ल्याएको महावाणिज्यदूतावासको विज्ञप्तिमा उल्लेख छ ।
