बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

  ७ घण्टा अगाडि

लुम्बिनी ११, साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुद्धका शिक्षाले अन्तरराष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ ।” मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केबल धार्मिकस्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“लुम्बिनी विश्वशान्तिको सन्देश फैलाउने केन्द्र हो, यस्ता अन्तरराष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ”, उहाँले भन्नुभयो । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उहाँले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र स्थापना, बुद्ध सर्किटअन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, सङ्ग्रहालय र अन्तरराष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

राससका अनुसार सङ्गोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताउनुभयो । कार्यक्रममा भारतीय विद्वान प्रा अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न विद्वानहरुले शुभकामना सन्देशमार्फत बौद्ध शिक्षा र यसको सान्दर्भिताका बारेमा व्याख्या गरेका थिए । त्यस अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौतासमेत गरिएको थियो । विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले स्वागत गर्दै बौद्ध कूटनीति विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभएको थियो । उहाँले विश्वविद्यालयले अन्तरराष्ट्रिय सेमिनारमार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिनुभयो ।

भारतका लागि नेपालका पूर्वराजदूत दीपककुमार उपाध्यायले बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुका बारेमा अनावश्यक विवाद तथा भ्रम सिर्जना हुनेगरी गतिविधि नगर्न बौद्ध दर्शनको अध्ययन÷अध्यापन गराउने विद्वावानलाई आग्रह गर्नुभयो । उहाँले रामायण र बौद्ध सर्किटमार्फत दुई मुलुक नेपाल–भारतको धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई मजबुत बनाउन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालययका उपकुलपति प्रा डा अच्युत वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतम, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनिश्वर नेपाल, भारतको सिद्धार्थ बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा कविता शाहलगायतले विश्वशान्तिका लागि बुद्ध कूटनीतिक सम्बन्ध महत्वपूर्ण रहेको बाउनुभएको थियो ।

कार्यक्रममा सहभागी दुवै देशका विभिन्न विश्वविद्यालयका प्रोफेसरहरुले बौद्ध दर्शन, बौद्ध कूटनीति र बौद्ध शिक्षाका विभिन्न आयामका बारेमा भइरहेका शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएका थिए । त्यसअवसरमा नेपालस्थित भारतीय राजदूतावासका फस्ट सेक्रेटरी वशिष्ठ नन्दन, भारतमा रहेका नालान्द विश्वविद्यालय र नेपालको सीमावर्ती क्षेत्रमा रहेको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति र प्राध्यापकसहित नेपालका सात वटा विश्वविद्यालयका उपकुलपति एवं प्रोफेसरहरू तथा बौद्ध दर्शन अध्ययन गरिरहेका नेपाल र भारतका विद्यार्थीसमेत सहभागी हुनुहुन्छ ।

सम्मेलनमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुणमणि पोखरेलले जानकारी दिनुभयो । सेमिनार दुई दिनसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया