कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

  साउन ११, २०८२

काठमाडौँ, १० साउन : कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रसिद्ध कथाकार प्राज्ञ माया ठकुरीले उक्त कृतिको लोकार्पण गर्दै विभिन्न विषयवस्तुलाई सूक्ष्म ढङ्गले नियालेर कथा रचना गरेको भन्दै कथाकारको प्रशंसा गर्नुभयो ।

कथाकार वैरागी नयाँ पुस्तामा असाध्यै आशालाग्दा कथाकारको रूपमा आएको भन्दै उहाँले यसलाई निरन्तरता दिए भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

प्राडा हरिप्रसाद सिलवालले वैरागीको कृतिले नेपाली साहित्यमा नयाँ इँट्टा थप्ने काम गरेको बताउनुभयो । समाजका यथार्थ विषयलाई लिएर सूक्ष्म दृष्टि र कलात्मक शैलीमा प्रस्तुत गरिएका कथा पढिरहँदा आफूले त्यही परिवेशमा पुगेको आभास भएको बताउनुभयो ।

आवरण प्रकाशनको ब्यानरमा भएको लोकार्पण समारोहमा कवि तथा कलाकार रमेश पौडेलले कथाकार वैरागीको कथाशिल्प प्राञ्जल भएकाले कृति सबैका लागि पठनीय रहेको दाबी गर्नुभयो ।

कथाकार वैरागीले साहित्यको दोस्रो कृतिको जन्म दिँदै गर्दा आफ्ना स्वर्गीय आमा–बुबा र दाइलाई सम्झदै आध्यात्मिक संसारबाट सधैँ आशीर्वाद प्राप्त भइरहने अपेक्षा व्यक्त गर्नुभयो । साहित्यकार सरु आस्थाले कलेजको सहपाठी साथीले साहित्यमा उचाइ लिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

दुई दशकदेखि साहित्य र पत्रकारितामा लाग्नुभएका रामेछापका सीताराम दर्लामी साहित्य र पत्रकारितामा सुजन वैरागीका नामले परिचित ‘ग्राफिक्स डिजाइनर’समेत हुनुहुन्छ । उहाँले २०६७ सालमा पहिलो कृतिका रूपमा मुक्तक सङ्ग्रह ‘पर्खाइका पलहरू’ प्रकाशित गर्नुभएको थियो । यस्तै, ‘पल्लवी रातहरु’ संयुक्त कृति पनि प्रकाशित भइसकेको छ । रुमानी साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक रहनुभएका वैरागीको अन्य थुप्रै पत्रिकामा सम्पादकीय भूमिका निर्वाह गर्नुभएको छ भने उहाँले केही गीत पनि बजारमा ल्याइसक्नुभएको छ ।

अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्पले प्रकाशन गरेको यो कृतिमा १९ वटा कथा सङ्ग्रहित रहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया