चार लाख घुस लिएको आरोपमा कार्यालय सहयोगी पक्राउ

  साउन १३, २०७७

काठमाडौँ, साउन १३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगीलाई चार लाख रुपियाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र महेन्द्रप्रसाद यादव रहेको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि दुवै जनाले सेवाग्राहीसँग चार लाख रुपियाँ घुस लिएको जानकारी दिनुभएको छ । आयोगको बुटवलस्थित कार्यालयको टोलीले घुस मागेको उजुरीको आधारमा लोध र यादवमाथि निगरानी बढाएको थियो ।

दुवै जनालाई चार लाख रुपियाँसहित भैरहवास्थित सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडको परिसरबाट नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताउनुभयो । नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया