हिउँ चितुवा गुफा जाने बाटोमा पदमार्ग निर्माण

  १५ घण्टा अगाडि

मुस्ताङ, १९ असारः घरपझोङ-५ ठिनी गाउँ नजिकै रहेको हिउँ चितुवा गुफा जाने बाटोमा गण्डकी प्रदेश सरकारले पदमार्ग निर्माण गरेको छ । प्रदेश सरकारद्वारा सूचिकृत मुस्ताङका १० पर्यटकीयस्थलमध्ये हिउँ चितुवा गुफा पनि एक रहेकाले यहाँ पुग्ने पदमार्ग निर्माण गरिएको हो ।

यहाँको दुर्लभ मानिएको यस गुफाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशको पर्यटन तथा उद्योग कार्यालयमार्फत विभिन्न भौतिक संरचना निर्माण सम्पन्न गरिएको जनाइएको छ ।

यहाँस्थित पर्यटन तथा उद्योग कार्यालयले चालु आर्थिक वर्षका लागि वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विनियोजित रु २० लाखबाट गुफा संरक्षण तथा पदमार्गलगायत संरचना निर्माण गरिएको कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गुफा जाने बाटोको प्रवेशद्वारबाट गुफासम्म करिब तीन सय मिटर उकालोमा रेलिङसहित सिँढी निर्माण गरिएको छ । 

गुफा संरक्षणका लागि गुफा नजिकको भिरालो सतहमा तारजाली (ग्याबिन) वाल लगाइएको पौडेलले उल्लेख गर्नुभयो । ठिनी गाउँ नजिकैको भिरालो पाखोमा अवस्थित यस गुफाको संरक्षण तथा पदमार्गसहित अन्य आवश्यक पूर्वाधार निर्माण स्थानीय उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

यसका अतिरिक्त पर्यटन तथा उद्योग कार्यालयले यस गुफालाई पर्यटक गन्तव्यका रूपमा पहिचान झल्किने गरी पर्यटक आकर्षित गर्न प्रवेशद्वारमा हिउँ चितुवाको एकथान माउ र बच्चाको मूर्ति निर्माण गरेको प्रमुख पौडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार हिउँ चितुवाको मूर्ति वारागुङ-४ तिरीका स्थानीय कालीगढ कुङ्गा गुरुङले निर्माण गर्नुभएको हो ।

समुद्री सतहबाट दुई हजार ९०० मिटरको अग्लो भिरालो सतहमा अवस्थित ठिनी गाउँ नजिकैको हिउँ चितुवा गुफालाई स्थानीय थकाली भाषामा ‘थेक्कुम’ भन्ने गरिन्छ । “यस गुफामा प्रसिद्ध भिक्षु उर्गेन पाल्साङले ध्यानसाधना गरेको स्थानका रूपमा लिने गरिएको छ  सोही कारण अझै पनि यहाँ ध्यान गर्ने कोठा छन् । गुफाका लागि बाटो बनाउने क्रममा अन्य दुई गुफा पनि फेला परेका छन् । योसँगै यहाँ तीन वटा हिउँ चितुवा गुफा छन्”, प्रमुख पौडेलले भन्नुभयो ।

मुस्ताङको ठिनी गाउँमाथिको उच्चलेकमा दुर्लभ तथा लोपोन्मुख हिउँ चितुवासहित अन्य वन्यजन्तुको बाँसस्थान छ । हिउँ चितुवाको अध्ययन अनुसन्धानकर्ताका लागि यस गुफाको नाम हिउँ चितुवा घोषित गरिएको उहाँको भनाइ छ ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट पूर्वतर्फ करिब दुुई किलोमिटर टाढा पर्ने पर्यटकीय तथा धार्मिकस्थल ढुम्बाताल, कुछप तेरङ्गा गुम्बा र घरपझोङ किल्ला जाने रिङरोड सडकमा पर्ने ठिनी हिउँ चितुवा गुफाको पर्यटन प्रवर्द्धन गर्न र यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीय पूर्वाधार निर्माण गरिएको जनमुक्ति युवा क्लबका पूर्वअध्यक्ष सञ्जय थकालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गुफाभित्र ढुङ्गामा कुँदिएका तिब्बतीय अभिलेख रहेका छन् । गुफामा सयौँ वर्षपहिले भिक्षुले ध्यान गरेकाले यहाँ लुङ्ता (ध्वजा)हरू राख्ने गरिएको छ । गुफा रहेको स्थानबाट मुस्ताङको कालीगण्डकी करिडोर, जोमसोम, स्याङ, मार्फा, ढुम्बाताल, ठिनी गाउँ, धौलागिरि र निलगिरि हिमाललगायत आसपासका पहाड र खेतीयोग्य भू–भाग मनमोहक देखिन्छन् । 

प्रदेश सरकारअन्तर्गत पर्यटन तथा उद्योग कार्यालयले चालु आर्थिक वर्ष मुस्ताङका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि ११ वटा आयोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ । 

कार्यालयका अनुसार प्रदेशका विभिन्न स्थानमा पर्यटकीय पदमार्ग, क्याम्पिङ साइड, ध्यानकेन्द्र, पद्यसम्भव मूर्ति स्थापन तथा पूर्वाधार निर्माण, साइक्लिङ पदमार्ग, गुम्बा मर्मत, झोङ गुफा प्राङ्गण मर्मत तथा सुधार, हिउँ चितुवा पदमार्ग र धार्मिकस्थलका माने छोर्तेनलगायत पर्यटकीय गन्तव्य निर्माण भइरहेका छन् ।

तपाईको प्रतिक्रिया