भगिनी शहरहरुको समन्वय तथा अनुभव आदान प्रदान बैठक सिचाङमा

  १४ घण्टा अगाडि

बेइजिङ, १४ असार : जुन २३ देखि २५ सम्म “साझा निर्माण, भविष्य सिर्जना” भन्ने विषयवस्तुसहित चीनको तिब्बत (सिचाङ) स्वायत्त प्रदेश र नेपालका भगिनी शहर सहयोग तथा आदानप्रदान सम्मेलन ल्हासामा आयोजना गरिएको छ ।

नेपाल-चीन कूटनैतिक सम्बन्ध स्थापनको ७०औं वार्षिकोत्सवका अवसरमा नेपाली महावाणिज्यदूतावास, ल्हासा र सिचाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रुपमा भगिनी सहर समन्वय तथा अनुभव आदानप्रदान बैठक २०२५ जुन २४ (असार १० गते) ल्हासास्थित साङ्ग्रिला होटलमा आयोजना गरिएको हो ।

भगिनी सहर सम्बन्धको विषयमा सबै नगरपालिकाहरूलाई समेटेर इतिहासमै पहिलो पटक आयोजना गरिएको यस्तो कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले गरेका थिए ।

यसैगरी बागमती प्रदेश सरकार एवम् काठमाण्डौं, पोखरा र भरतपुर महानगरपालिका तथा धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुर नगरपालिकाका प्रतिनिधि गरी २१ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सिचाङका ल्हासा, सिगात्से, लिन्ची, नाछ्यु, शान्नान, कारुओ नगर तथा आली प्रिफेक्चरका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिचाङ सरकारका उपाध्यक्ष चाओ फङले यो कार्यक्रमबाट नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

नेपाली प्रतिनिधिमण्डलका प्रमुख तथा पोखराका मेयर आचार्यले नेपाल चीनको तिब्बतसँग विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ पार्न र नेपाल-चीन सम्बन्धलाई थप विकास गर्न मद्दत गर्न इच्छुक रहेको बताए । मेयर आचार्यले चिनियाँ पक्षले दिएको न्यानो आतिथ्य, उनीहरूको सहयोगको भावना र साझा भविष्य निर्माण गर्ने दिशामा उनीहरूको सक्रिय पहलको लागि आभार व्यक्त गरेका थिए ।

बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालले नेपाल र सिचाङका स्वायत्त क्षेत्रका शहरहरूबीच पर्यटन, संस्कृति, शिक्षा, व्यापार, प्रविधि र अन्य क्षेत्रहरूमा सहकार्यको सम्भावनाको बारेमा चर्चा गरे ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रमले भगिनी शहरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

नेपाली सहभागीहरूले नेपाल र चीनबीचको पारस्परिक सम्बन्ध र विशेषगरी भगिनी शहरहरूबीचको साइनोले आपसी मित्रता अझै गहिरो, अर्थपूर्ण र परिणाममुखी हुने अपेक्षा गरे ।

बैठकले चीन र नेपाल पहाड र नदीहरूले जोडिएका असल छिमेकी, असल मित्र र असल साझेदार भएको बताएको छ । नेपालसँग सिमाना जोडिएको चीनको एक मात्र प्रान्त सिचाङ र नेपालले सांस्कृतिक सम्बन्ध र पुस्तौंदेखिको मित्रता बाँडेका छन् । चीन र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवलाई दुई देशका नेताहरूले गरेको महत्त्वपूर्ण सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, आदानप्रदान र अन्तरक्रिया, पारस्परिक रूपमा लाभदायक सहयोग र जनता-जनताबीचको सम्बन्ध निर्माण गर्न नेपालसँग काम गर्ने र चीन-नेपाल मैत्रीपूर्ण शहर सहयोगमा संयुक्त रूपमा नयाँ अध्याय लेख्ने तत्परता देखाएको छ ।

यसैबीच नेपाल र सिचाङ प्रदेशका शहरहरूबीच भगिनी शहर सम्बन्ध स्थापना भएको २५औं वार्षिकोत्सवको अवसरमा धुलिखेल र अली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना गर्ने आसयपत्रमा हस्ताक्षर भयो ।  

भगिनी सहरहरू

१, बनेपा नगरपालिका र सिगात्से नगर (सन् १९९९)

२, लिन्ची – पोखरा

३, ल्हासा – काठमाण्डौं

४, शाननान – भक्तपुर

५, कारुऔ – जिरी

६, नाछ्यु – टोखा

७, सिगात्से – भरतपुर

प्रक्रियामाः आली र धुलिखेल ।

तपाईको प्रतिक्रिया