आज संसार किन यति निस्सार !मानौं जोश जाँगर नै मरिसक्यो !

  असार ०९, २०८२

सूचना प्रविधिको यत्रो जालो फैलिरहेको यस्तो एउटा युगमा हामी अथाह उदासीनताले ढाकिएका छौँ । जतिसुकै राम्रो काम गर्नुस्, कमैले मात्र प्रशंसा गर्छन्, व्यस्त सडकमा लड्नुस्, कमैले मात्र हात दिन्छन् । होटल, रेस्टुराँमा अनगिन्ती खानेकुरा छन्, पैसा पनि छ तर भोक हुँदैन । किन यो संसार यति ‘उदासीन’ छ, मानौं कुनै पनि कुराको लागि कुनै उत्साह छैन?

द्रूत गतिमा परिवर्तन भइरहेको आर्थिक, सामाजिक वातावरणमा मान्छेले भौतिक जीवनमा परिवर्तन मात्र नभई आफ्नो आध्यात्मिक संसारको अभाव भोग्न थालेको छ । अचेल विश्वव्यापी अर्थतन्त्रमा बारम्बार उतारचढाव छ । रोजगारीको समस्या छ । घरआवासको मूल्य, शिक्षा र चिकित्साजस्ता जीवनयापनको लागत निरन्तर बढिरहेको छ जसले गर्दा धेरै मानिसहरू भौतिक स्थिरताको खोजीमा थकित भएका छन् ।

प्रतिव्यक्ति डिस्पोजेबल आय वर्षैपिच्छे बढेपनि वृद्धिदर धीमा छ र आयको खाडल अझै गहिरो छ । यस सन्दर्भमा धेरै मानिसहरूले जीवनमा दबाबको सामना गर्न अधिक ऊर्जा खपत गर्नुपर्छ । यसरी आत्माको लागि उचित पोषण र भावनाको विकासमा गिरावट आउँछ ।

तीव्र आर्थिक विकासले पारस्परिक सम्बन्धमा दूरी बढाइदिएको छ । अग्लो भवनमा कमिलासरी बस्ने मान्छेहरू छिमेकी भएर पनि एकअर्कालाई चिन्न सक्दैनन् । सहकर्मीहरूसँग कामबाहेक अर्को कुराकानी गर्न चाहँदैनन् । गहिरो अन्तरक्रियाको अभाव छ, जसले गर्दा भावनात्मक पक्ष कमजोर बनेको छ ।

इन्टरनेट र स्मार्टफोनको बिगबिगीसँगै जीवनशैली धेरै समृद्ध भएको छ । तर तिनीहरूले हाम्रा भावनाहरू व्यक्त गर्ने तरिकालाई पनि चुपचाप परिवर्तन गरिरहेका छन् । सामाजिक सञ्जालमा लाइक र टिप्पणीहरू राम्रै अन्तरक्रिया जस्तो लाग्छन्, तर वास्तविकतामा प्रायः सतही हुन्छन् र आत्माको गहिराइमा पुग्न सक्दैनन् । प्यू रिसर्च सेन्टरद्वारा जारी गरिएको एक सर्वेक्षणले देखाउँछ कि अमेरिकीहरूले डिजिटल उपकरणहरूमा दिनको औसत लगभग ६ घण्टा बिताउँछन्, तर आधा भन्दा बढीले एक्लो महसुस गरेको सुनाउँछन् ।

सूचनाको ‘ओभर डोज’ले मानिसहरूलाई थामिनसक्नुको भार दिएको छ । ध्यान असीमित रूपमा छिरलिएको हुन्छ । हट र इन्टरनेट सेलिब्रेटीहरू दैनिक जन्मिरहेका छन्, उदाइरहेका छन् र कालान्तरमा हराइरहेका छन् । मानिसहरूको हृदयलाई साँच्चै छुने र गहिरो सोच जगाउन सक्ने सामग्रीहरू खिइँदै गएका छन् । ‘फास्ट-फूड’ संस्कृतिमा मानिसहरूले सूचना त छिट्छिटो उपभोग गर्छन् र बुझेर मनन गर्ने उत्साह मृतप्रायः छ ।

उदासीनताको उपचार

समाजमा रहेको उदासीनताको कारण केही मानिसहरूले आध्यात्मिक उपचार खोज्न थालेका छन् । अचेल ग्रामीण जीवनमा फर्कनु एक प्रवृत्ति बनेको छ। यो जिन्दगीको अस्वस्थ प्रतिष्पर्धाले निम्त्याएको जीवनप्रतिको ‘विद्रोह’ हो । मानिसमा अर्गानिक, सरल र शान्त जीवनशैलीको माग बढ्दो  छ । ग्रामीण क्षेत्रमा मानिसहरू आफैंले तरकारी उब्जाउँछन्, आत्मनिर्भरताको आनन्द लिन्छन्, श्रम मार्फत प्रकृतिसँग सम्बन्ध स्थापित गर्छन्, यसरी आन्तरिक शान्ति र सन्तुष्टि पाउँछन् ।

माटोतर्फ फर्किनु भौतिक वापसी मात्रै होइन, आध्यात्मिक जागरण पनि हो। धेरै भन्दा धेरै मानिसहरू आध्यात्मिक विषयमा ध्यान दिन थालेका छन्, आफूलाई अन्वेषण गरिरहेका छन् र ध्यान, योग, अध्ययन र अन्य विधिहरू मार्फत जीवनको वास्तविक अर्थ खोज्न थालिरहेका छन् ।

केही तथ्यांक अनुसार धेरै भन्दा धेरै मानिसहरू मानसिक स्वास्थ्यबारे चिन्तित भएका छन् । कसरी शान्ति, सन्तुष्टि पाउने भनेर समय र ऊर्जा खर्चिरहेका छन् ।

यद्यपि समाजमा व्याप्त उदासीनताले लपेटिएपनि हामी शक्तिहीन त पक्कै छैनौं।

पहिलो, हामीले स्वस्थ पारस्परिक सम्बन्ध स्थापित गर्नुपर्छ । चाहे त्यो अफलाइन भेला होस् वा अनलाइन आदानप्रदान, हामीले सच्चा भावना र गहिराइमा ध्यान केन्द्रित गर्नुपर्छ ।

दोस्रो, सूचनाहरूको महासागरमा बहुमूल्य सामग्री फिल्टर गर्न सिक्नुपर्छ । अवैध ब्राउजिङ घटाएर प्रत्येक पठन वा हेराइलाई आत्माको लागि पोषण बनाउनुपर्छ।

तेश्रो, आफ्ना शौखहरू जगाउनुपर्छ चाहे त्यो खाना पकाउने होस्, फोटोग्राफी होस्, चित्रकला होस् वा यात्रा, जसले जीवनमा रंग थप्न सक्छ र भित्री जोश जगाउन प्रेरित गर्नसक्छ ।

चौथो, कृतज्ञता ज्ञापन गर्न र सम्मान गर्न सिक्नुपर्छ। आजको प्रचूरताको संसारमा हामीले धेरै कुरा पाएका छौँ तर प्रायः वरपरकै सौन्दर्य देखिरहेका छैनौँ। किन हतारोलाई तिलाञ्जली दिएर परिवारको न्यानोपन, आफ्ना साथीहरूको हेरचाह र अपरिचितहरूको स्याहार महसुस नगर्ने? यी सरल र इमान्दार भावनाहरू जीवनको उदासीनताविरुद्ध हाम्रा सबैभन्दा शक्तिशाली हतियार हुन् ।

प्रविधिले केही हदसम्म मानिस मानिसबीचमा निकटता ल्याएको छ । मौकाको फाइदा उठाउँ । प्रविधिले जीवनप्रतिको जोशलाई पुन: जागृत गर्ने असीमित सम्भावनाका ढोकाहरू खोल्छ । प्रविधिहरूको निरन्तर विकाससँगै व्यक्तिगत र बौद्धिक सेवाहरू बिस्तारै जीवनका सबै पक्षहरूमा प्रवेश गर्दैछन्, जसले मानिसहरूलाई अभूतपूर्व सुविधा र आराम प्रदान गर्दैछ । यसबाहेक प्रविधिले मानवीय हेरचाहमा बढी ध्यान दिन थालेको छ, सामाजिक समस्याहरू समाधान गर्न र मानव कल्याण गर्न खोजिरहेको छ ।

उदाहरणका लागि, मानिसहरूलाई आफ्नै स्वास्थ्यमा ध्यान दिन सम्झाउने स्मार्ट उपकरण छ, त्यसबाट स्वास्थ्य डेटा निगरानी गर्न सकिन्छ । भर्चुअलमा भेटेका मानिसहरूलाई वास्तविक जीवनमा भेट्नका लागि तारतम्य मिलाउन सकिन्छ । आमनेसामने कुराकानीबाट अनुभवहरू अझ रोचक पारामा ढाल्न सकिन्छ । यी प्रविधिहरूको प्रयोगले जीवनलाई अझ रंगीन मात्र बनाउँदैनन् तर मानिसहरूलाई व्यस्तता र दबाबमा मुक्ति र सन्तुलन खोज्न पनि सघाउँछन् ।

संसार हल्का मसी जस्तै छ, जहाँ लगेर कोर्छौँ त्यहीँ चित्र बनिन्छ । उत्साह जीवनको हरेक कुनामा लुकेको हुन्छ । बिहानी चियाकफीको कप, राम्रो किताबको संगत, परिवारसँगको न्यानो खाना वा साथीहरूसँग अबेर रातीको कुराकानी इत्यादि । जबसम्म हामी हाम्रो हृदयले महसुस गर्ने प्रयास गर्दैनौँ तबसम्म हृदयस्पर्शी क्षणहरू फेला पार्न सक्दैनौँ ।

वास्तवमा यो जीवनबाट जोश, जाँगर, उमङ्ग हराएको होइन तर अज्ञानता, अव्यवस्था र भागदौले अस्थायी रूपमा ढाकेको मात्रै हो । चिनियाँ अनलाइन पिलिपिलिमा उद्धृत एउटा पुरानो उखान, “जीवन तपाईंसँग कति लामो छ भन्ने होइन, तर तपाईंले यसलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा हो।”

जबसम्म हामी हाम्रो हृदयले सुन्न, महसुस गर्न र सिर्जना गर्न खोज्छौँ तब यो चिसो लाग्ने संसारमा अनायासै न्यानो पाउन सक्छौं । समयको धारामा, संवेदनशील र मायालु हृदयलाई बचाएर राख्नुपर्छ जसले जीवनको हरेक क्षण न्यानो र रंगीन बनाएर हिँडाइरहन सकोस् ।

तपाईको प्रतिक्रिया