कोलम्बो, ९ असार : श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।
सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्री मार्गबाट टापुमा तस्करी भइरहेको बताउनुभयो । उहाँले दुई करोड २० लाख जनसङ्ख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुव्र्यसनी रहेको बताउनुभयो ।
“हामीले पत्ता लगाउने काम जारी राख्दै मागलाई घटाउन आवश्यक छ”, विजेपालाले कोलम्बोमा पत्रकारहरूलाई भन्नुभयो । जफत गरिएका लागूऔषधको मूल्य २३ अर्ब रुपैयाँ (सात करोड ६० लाख डलर) रहेको प्रहरी प्रमुख प्रियन्थ विरासुरियाले बताउनुभयो । त्यो सन् २०२४ मा जफत गरिएको २८ अर्ब रुपैयाँ मूल्यको लागूऔषधको नजिक थियो । विरासुरियाका अनुसार लागूऔषध कारोबार र तस्करी गरेको आरोपमा एक हजारभन्दा बढी मानिस पक्राउ परेका छन् । तीमध्ये एक ३८ वर्षीया थाई महिलालाई मे ३० मा कोलम्बो विमानस्थलमा करिब १० किलोग्राम (२२ पाउन्ड) कोकेन बोक्दा पक्राउ गरिएको थियो । यो श्रीलङ्काको प्रवेश विन्दुमा यो लागूऔषधको सबैभन्दा ठूलो पत्ता लागेको मामिला हो ।
गत महिना पनि बेलायत, भारत र थाइल्यान्डका अन्य तीन जनालाई करिब ६० किलोग्राम (एक सय ३२ पाउन्ड) सिन्थेटिक गाँजा तस्करी गर्ने प्रयासमा पक्राउ गरिएको थियो । कोकेनसहित पक्राउ परेकी थाई महिलासहित सबै चार संदिग्धलाई दोषी ठहरिएमा आजीवन कारावासको सजाय हुनसक्छ । श्रीलङ्काका अधिकारीहरूले पहिले देशको तटबाट ठूलो मात्रामा हेरोइन जफत गरेका छन् । यसले यो मुलुकलाई अन्य स्थानहरूका लागि निर्धारित लागूऔषधको ट्रान्जिट हबका रूपमा प्रयोग भइरहेको सुझाव दिन्छ ।
अक्टोबरमा श्रीलङ्काको अदालतले १० जना इरानी पुरुषलाई हेरोइन तस्करीमा दोषी ठहर गरेपछि आजीवन कारावासको सजाय सुनाएको थियो । श्रीलङ्काको सबैभन्दा ठूलो एकल लागूऔषध जफत सन् २०१६ डिसेम्बरमा भएको थियो । त्यस समयमा भन्सार विभागले भारत जाने काठको ट्रान्ससिपमेन्ट कन्टेनरमा आठ सय किलोग्राम कोकेन फेला पारेको थियो । (रासस/एएफपी)