श्रमदान गरेर पर्यटकीयस्थल सोवाङधुरीमा पूर्वाधार निर्माण

  १२ घण्टा अगाडि


बेनी (म्याग्दी), ९ असार: रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा जाने पर्यटकको सुविधाका लागि खानेपानीसहितको पूर्वाधार निर्माण गरिएको छ । धवलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङधुरीको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि धुरी नजिकै क्याम्पिङ गरी बस्ने ठाउँमा शौचालय पनि बनाइएको राससले जनाएको छ।

गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख र स्थानीयवासीको रु ३१ हजार ७०० बराबरको श्रमदाननमा शौचालय निर्माण गरिएको वडासचिव सुमन बुढाथोकीले जानकारी दिनुभयो । समुद्री सतहबाट तीन हजार ८४० मिटरको उचाइमा अवस्थित सोवाङधुरीमा ढुङ्गा नपाइने भएकाले शौचालयको सेफ्टीट्याङ्की बनाएर काठले बारिएको र टिनले छाइएको छ ।

त्यसैगरि शौचालय परिसरमा चारवटा पाँच सय लिटरको हिलट्याङ्क ड्रम राखेर धारासमेत जडान गरिएको वडासदस्य चेतन गर्बुजाले जानकारी दिनुभयो । उक्त ड्रममा धुरी नजिकै रहेको खानेपानीको मूलबाट पाइपमार्फत पानी ल्याएर जम्मा गर्ने व्यवस्था गरिएको छ । शौचालय बनाउन स्थानीयवासीसँगै वडा सदस्य प्रेमबहादुर पुन र चेतन गर्बुजाले निर्माणस्थलमा बसेर श्रमदान गर्नुभएको थियो ।

चिमखोलाबाट पात्लेखेत–सिजी–थामडाँडा हुँदै करिब सात घण्टाको पैदलयात्रामा सोवाङधुरी पुग्न सकिन्छ । धवलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङधुरी एकैठाउँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई अवलोकन गर्न सकिने ठाउँका रूपमा परिचित छ । सोवाङधुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीको समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृश्यले पर्यटकलाई लोभ्याउने गर्छ ।

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धवलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङधुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् ।

तपाईको प्रतिक्रिया