चितवन ५ असारः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन् ।
सङ्कलन गरिएका २३२ अण्डामध्येबाट २०२ वटा बच्चा कोरलिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार सङ्कलन गरिएका अण्डामध्ये २० वटालाई प्रयोगशालामा छुट्टै राखिएको थियो । यसबाट १९ बच्चा कोरलिएको छ । अन्य अण्डालाई प्रजनन केन्द्रमा प्राकृतिक रुपमा राखिएको थियो । गत वैशाख १६ गते राप्ती नदी किनारमा रहेका गोहीका गुँडबाट सङ्कलन गरी अण्डा ल्याइएको थियो ।
निकुञ्जले १८ गुँड पहिचान गरी तीमध्ये सात गुँडबाट अण्डा सङ्कलन गरेर केन्द्रमा बच्चा कोरल्नका लागि ल्याएको थियो । सातवटा गुँडमा रहेका २३२ अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याईएको थियो । सङ्कलन गरेर ल्याइएका अण्डामध्ये २१२ अण्डालाई प्राकृतिक रुपमा कोरलिनका लागि छोडिएको थियो । गत आर्थिक वर्षमा राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ गुँडका २४७ अण्डा निकालिएको थियो ।
प्राकृतिक रुपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरु र अन्य जनावारसँगै मानवीय गतिविधिबाट हानिनोक्सानी हुने, नदीमा बाढी आउँदा बगाउने हुँदा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गर्ने गरिन्छ । निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ हुर्किएका गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ ।
पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।