अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति

  जेठ ३२, २०८२

चीनको राजधानी बेइजिङमा जुन १४ तारिखदेखि एक सातासम्म नेपाली सांस्कृतिक वस्तुहरूको सौन्दर्य झल्किने भएको छ । सन् २०२५ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह चैत्यको प्राङ्गणमा सुरू भएको हो । विशेष प्रदर्शनी, सांस्कृतिक बजार र सार्वजनिक गतिविधिहरू गरी १० भन्दा बढी विशेष गतिविधिहरूले चीन र नेपालबीच सांस्कृतिक आदानप्रदान र सांस्कृतिक सम्पदा संरक्षणका उपलब्धिहरू प्रस्तुत गर्नेछ ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्धमा कलाकार अरनिकोले सबैभन्दा ठूलो योगदान दिएको बताए । विभिन्न कालखण्डमा चिनियाँ र नेपाल भिक्षुले भ्रमण आदानप्रदान गरेर दुई देशबीचको सम्बन्धलाई विकास गरेको उनले उल्लेख गरे ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले भिडियोमार्फत सम्बोधन गर्दै नेपालचीन सम्बन्धका विविध आयामबारे चर्चा गरे ।

बेइजिङस्थित नेपाली दूताबासकी काउन्सिलर सबिता नकर्मीले नेपालको पर्यटन प्रवर्द्धन गर्दै श्रव्यदृश्य सामग्री प्रस्तुत गरिन् । चिनियाँका लागि नेपालको साहसिक तथा आध्यात्मिक पर्यटन अद्वितीय रहेको उनले चर्चा गरिन् ।

चिनियाँ राष्ट्रिय सांस्कृतिक सम्पदा ब्युरो अन्तर्गत सम्पदान क्षेत्र विभागका उपमहानिर्देशक चङ लै र बेइजिङ नगरपालिकाको सांस्कृतिक सम्पदा ब्युरोका उपमहानिर्देशक सोङ हाउच्येले पनि सम्बोधन गरे ।

यस वर्ष सन् २०२५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव हो । यस वर्ष सांस्कृतिक सप्ताहको विषयवस्तु अनन्त सांस्कृतिक सम्पदा र चिरस्थायी चीन-नेपाल मित्रता भन्ने रहेको छ। प्रकृतिको सौन्दर्य – थाङ्का कला र प्राकृतिक रंगद्रव्य नामक विशेष प्रदर्शनी लामो समयसम्म जारी रहनेछ। प्रदर्शनीले थाङ्का कलाकारको उत्कृष्ट सीपलाई देखाउनेछ ।

समारोहमा रोटर क्लब अफ भादगाउँले नेपालबाट ल्याएको स्वंभूको प्रतिमा श्वेतचैत्य व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छ ।

यही जुन २० तारिखसम्म परम्परागत शिल्पकारहरूले आफ्नो अद्वितीय सीप देखाउनेछन् जसले दर्शकहरूलाई काठको कुँदाइ, कश्मीरी कपडा उत्पादन र अन्य सीपहरूको अनुभव, टिकट सङ्कलनको सुविधा दिलाउनेछ । नेपालको विविध सांस्कृतिक रीतिरिवाजहरूको साथै चिनियाँ सांस्कृतिक बजार पनि एकसाथ मिलाइएको छ ।

श्वेत चैत्य मन्दिर व्यवस्थापन कार्यालयले “युआन राजवंशमा प्रवेश” र “प्राचीन प्यागोडासँग भेटघाट” जस्ता शैक्षिक पाठ्यक्रमहरूको श्रृंखला एकैसाथ सुरु गर्नेछ । सामाजिक शिक्षा शिक्षकहरूको मार्गदर्शनमा, आगन्तुकहरूले नीलो र सेतो पोर्सिलेनको रंगद्रव्य रहस्यहरू बुझ्न, प्राचीन प्यागोडाहरूको निर्माण सिद्धान्तहरू बुझ्न, पोर्सिलेन रंगको अनुभव गर्न र क्षेत्रीय संस्कृतिहरूमा सौन्दर्य यात्रा सुरु गर्दै सानो प्यागोडा निर्माण गर्न सक्छन् ।

राजधानी संग्रहालयको हलमा चार सांस्कृतिक अन्तर्क्रिया आयोजना गरिनेछ जसमा थाङ्का कला र युआन राजवंशको इतिहास र संस्कृति तथा चीन-नेपाल सांस्कृतिक सम्पदाको संरक्षणजस्ता विषयहरू समावेश हुनेछन् ।

सांस्कृतिक सप्ताहको समयमा श्वेतचैत्य खुला रहनेछ र जुन १६ तारिख सोमबारका दिन पनि खुलै रहने जनाइएको छ । स्मरणीय छ, बेइजिङमा सोमबारका दिन सङ्ग्रहालयहरू बन्द रहने गर्दछन् ।  

तपाईको प्रतिक्रिया