‘पर्वतीय पर्यटन प्रवर्द्धनमा तस्बिर प्रदर्शनी उपयोगी’

  जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक सङ्गीता ओझाले राससको तस्बिर प्रदर्शनीले मुलुकको पर्वतीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि कार्यकारी निर्देशक ओझाले प्रदर्शित तस्बिरले नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

“पर्वतीय पर्यटनसम्बन्धी फोटो प्रदर्शनी अतिनै महत्वपूर्ण छ”, कार्यकारी निर्देशक ओझाले भन्नुभयो, “हामी पर्यटन क्षेत्रमा काम गर्दैगर्दा प्रदर्शनीका दुर्लभ फोटोहरुको आवश्यक रूपमा जगेर्ना गर्दै स्वदेशी र विदेशी पर्यटकसामु पुर्‍याउनुपर्ने अपरिहार्यता छ । यस कामका लागि राससलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

उहाँले यस्ता तस्बिर प्रदर्शनीलाई देश तथा विदेशमा निरन्तर रूपमा गर्न सकिए देशको विकास, पर्यटन क्षेत्रको प्रवर्द्धन र गन्तव्यमा पुग्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल चिनाउने एतिहासिक सम्पदाको संरक्षण प्रवद्र्धनमा विशेष जोड दिनुभयो । युवापुस्तालाई देशभित्रै आशा जगाउने काममा पनि यस्ता रचनात्मक कामले मद्दत पुग्ने उहाँको भनाइ छ । “अहिलेको युवापुस्ता तत्कालै नतिजा खोज्ने किसिमको छ । प्रविधिको पहुँचले युवापुस्तामा तत्कालै नतिजा खोज्ने असीमित चाहना जगाएको छ । यस्ता प्रदर्शनीमार्फत विशेषगरी विद्यार्थी एवं युवा पुस्तालाई देशभित्र धेरै छन् देशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन जरुरी छ”, कार्यकारी निर्देशक ओझाले थप्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीबारे जानकारी गराउँदै प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया