नेपाल-भारत सम्बन्धका पछिल्ला प्रश्न, पूर्व राष्ट्रपतिको उत्तर यात्रा  

  १२ घण्टा अगाडि

साझाखबर विचार श्रृंखला

चीन र भारतको बीचमा रहेको नेपालका लागि यी दुबै छिमेकी सार्न नसकिने अचल स्तम्भ हुन् । विभिन्न आरोह अवरोहका बाबजुद आफ्नो सहज जीवनयापनका लागि नेपालले दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नु अपरिहार्य हुन्छ । तर कतिपय अवस्थामा नेतृत्व पुग्ने नेताहरू वा जिम्मेवार व्यक्तिहरूको महत्वकांक्षाका कारण सम्बन्धमा दरार उत्पन्न हुन जान्छ र भोलि केही अनिष्ट भैहाल्ने हो कि भन्ने चिन्ताले सताउँछ।

केपी शर्मा ओली नेतृत्वमा आइसकेपछि नेपाल र भारत सम्बन्धमा चिसोपन भएपनि व्यवहारिक सम्पर्क भने कायम छ । प्रधानमन्त्री भएको लामो समय बितिसक्दा पनि भारतले भ्रमणका लागि निम्तो नदिँदा केपी ओलीप्रति भारत इच्छुक नभएको ठहर्छ । प्रधानमन्त्री हुने बित्तिकै पहिला भारत भ्रमण गर्ने भन्ने एक किसिमको मानक नै बनिसकेको थियो, यसलाई केपी ओलीले बाध्य भएर भत्काएका छन् । बाध्य भएर किन भन्न सकिन्छ भने उनले भारत भ्रमणका लागि आफू र आफ्ना सम्पर्कमाध्यमबाट भगिरथ प्रयास गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओलीबीच २ महिना अघि थाइल्याण्डको बैङ्ककमा बिमिस्टेक सम्मेलनका दौरान साइडलाइन वार्ता भएको थियो । सगरमाथा संवादमा निम्तो दिने बाहेक ओलीले चाहेको कुरा चाहिँ भारत भ्रमणको निम्तो पाउने पनि थियो । त्यसअघि राष्ट्रसंघ महासभा, परराष्ट्रमन्त्री आरजु राणाको निरन्तरको प्रयास इत्यादिका कारण पनि ओलीलाई दक्षिणको साइत जुर्न सकेको छैन ।

केपी शर्माओलीले नयाँ चुच्चे नक्सा जारी गर्नेदेखि भारतले इपीजी प्रतिवेदन नस्वीकार्ने अवस्थासम्म सम्बन्धमा चिसोपन छ । सम्बन्धलाई नयाँ शिराबाट कसरी अगाडि बढाउने भन्ने नेपाल वा भारतसँग कुनै उपाय नदेखिनुले नेपाल र भारतबीच शीर्ष तहमा ठण्डापन कामयै रहेको अनुमान गर्न सकिन्छ।

बंगलादेश घटनापछि प्रधानमन्त्री शेख हसिना भारत निर्वासनमा आइन् । दक्षिण एसियामा माइक्रो म्यानेजमेन्ट गर्न सक्रिय भएको भन्दै भारतमाथि आलोचना थोपरिन्छ । ठ्याक्कै त्यही बेला स्वास्थ्योपचारका लागि नेपालकी परराष्ट्रमन्त्री आरजु राणा पनि भारतमा रहेकाले राम्रै सत्कार पाइन् । यो सम्मानका पछाडि कारण थियो कि छिमेकीहरूसँग भारतको राम्रो सम्बन्ध देखाउनू । स्वास्थ्योपचारका लागि दिल्लीमै रहेकी राणालाई भारतले विशेष स्वागत र नेपालबाट झिकाएर गरिएको स्वागत थिएन । यस्तो अवस्थामा नेपालस्थित मिडियाले पनि आरजुको ठूलो सम्मान भएको तर ओलीलाई बेवास्ता गरिएको प्रचार गरे जुन पूर्ण सत्य होइन । आरजुले त्यसपछिको भ्रमणमा भेट्न पाएकी छैनन् । मोदीले पनि नेपाली प्रधानमन्त्रीसँग भेटेर लामो कुराकानी गरेका छैनन् । तथापि दुई देशबीच सम्बन्ध त छँदैछ । मात्रै उनीहरू बिजनेस गरिरहेका छन् तर आत्मीयता छैन ।

नेपाल भारत सम्बन्धको यो परिदृष्यबीच शनिबारदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उत्तरको यात्रा थालेकी छन् । चीनसँग राम्रो सम्बन्ध बनाएकी भण्डारी पुनः पार्टी राजनीतिमा फर्किने इच्छा गरेकी छन् । संभवतः यसै सिलसिलामा उनी उत्तरी छिमेकी चीनको कम्युनिष्ट पार्टीको मन्त्रणा लिने मनसायमा भ्रमणमा निस्किएको विश्लेषण गरिएको छ । तर लामो समयसम्म विद्यादेवी भण्डारी भारतको विश्वासप्राप्त नेतृ हुन् । पछि राष्ट्रपति भएपछि चीनसँगको विश्वासमा ज्यादा देखिएको भ्रम देखिन्छ तर उहाँको भारतसँगको गहिरो सम्बन्धमा चीनको प्रभावले उति टाढा लैजान सक्दैन ।

भारतले आफूले चाहेको एक्टरसँग मात्रै प्ले गर्ने होइन, नचाहेको एक्टरसँग पनि खेल्नुपर्छ, भन्ने बुझेको छ । त्यसैले चीन जाँदैमा भारतसँग सम्बन्ध खराब भैहाल्छ भन्ने होइन । उतिखेर उनी राष्ट्रपति भएपनि कार्यकारी पद नभएकाले उनले चीनसँगको सम्बन्धमा देख्दा नजीक लागेपनि भारतको  सम्बन्ध रिन्यू गर्न सक्छिन् ।

देशहरू अविच्छिन्न उत्तराधिकारी संस्था हुन् । यहाँ पात्रहरू परिवर्तन भएपनि, दोहोरिए पनि काम चलाउनका लागि निरन्तर सम्पर्क / समन्वय गरिरहेका हुन्छन् ।

नेपाली काङ्ग्रेसका युवा नेता शंकर तिवारीसँगको कुराकानीमा आधारित  

तपाईको प्रतिक्रिया