काठमाडौँ, ३१ वैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि गरिएको आक्रमण आतङ्कवादविरुद्धको आक्रमण भएको स्पष्ट पार्नुभयो ।
सर्जिकल र एयर स्ट्राइकपछिको ‘अपरेसन सिन्दूर’ भारतको आतङ्कवादविरुद्धको नीति भएको उहाँले प्रस्ट पार्नुभयो । भारतले आतङ्कवादविरुद्ध एउटा सीमारेखा कोर्न सफल भएको दर्शाउँदै उहाँले आतङ्कवादीविरुद्ध कठोर कारबाहीमा उत्रने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “भारतले आक्रमण केवल स्थगित गरेको हो । आगामी दिनमा पाकिस्तानले कस्तो रवैया अपनाउँछ त्यसमा भारतले अपनाउने सशस्त्र शक्ति निर्भर रहन्छ ।”
पाकिस्तानसँग अब कुरा हुँदा आतङ्कवादकै विषयमा हुने र पाकिस्तानले कब्जा गरेको काश्मीरका विषयमा हुने उहाँले प्रस्ट पार्नुभयो । मोदीले बुद्धजयन्तीको स्मरण पनि गर्नुभयो । उहाँले थप्नुभयो, “बुद्धले शान्तिको मार्ग देखाउनुभयो तर शान्तिको मार्ग पनि शक्तिको मार्ग हुँदै अगाडि बढ्छ ।” त्यसैले पनि भारतले आफ्नो शक्ति आतङ्कवादविरुद्ध देखाउने जिकिर गर्नुभयो । समृद्ध र विकसित भारतको सपना पूरा गर्न भारत शक्तिशाली हुनैपर्ने र आवश्यक पर्दा त्यो शक्तिको प्रयोग पनि गर्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले भन्नुभयो, “प्रत्येक आतङ्कवादविरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो । पाकिस्तानी सेना, पाकिस्तानको सरकार जुन आतङ्कवादलाई मलजल गर्दै छन् त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गरिदिने छ ।” पाकिस्तानसँगको संवादबारे भारतको घोषित नीति नै रहेको बताउँदै मोदीले भन्नुभयो, “यदि पाकिस्तानसँग कुराकानी हुन्छ भने त्यो आतङ्कवादबारे हुन्छ । पाकिस्तानसँग कुराकानी हुन्छ भने पाकिस्तान अधीनस्थ काश्मीरबारे हुन्छ ।”
आणविक शक्ति सम्पन्न दुवै मुलुकबिच द्वन्द्व चर्केर ठुलो युद्ध हुने ठानेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यस्थतामा शनिबार बेलुकादेखि युद्धविराम भयो । युद्ध लम्बिने कुराले चिन्तित दुवै देशका नागरिक युद्धविराम भएपछि त्यसको स्वागत गर्दै खुसियाली मनाए । आइतबारदेखि जनजीवन सामान्य बन्दै गएको छ ।
आणविक हतियारयुक्त दुवै मुलुक कठोर युद्धमा जाने खतरा बढिरहेका बेला अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्ने सहमति भयो । अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाई दिनुभयो । उहाँले भन्नुभएको छ, “रातभरिको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबिच पूर्ण रूपमा र तुरुन्तै युद्धविराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुसी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”
राष्ट्रपति ट्रम्पले दुई देशबिचको विवादको मुख्य केन्द्रविन्दुका रूपमा रहेको काश्मीर विवादमा मध्यस्थता गर्न चाहेको विचार पनि सार्वजनिक गर्नुभएको छ तर भारतले यो विषय द्विपक्षीय भएको भन्दै बाह्य मध्यस्थता नचाहिने बताउँदै आएको छ । पाकिस्तानले आतङ्कवादी घुसपैठलाई संरक्षण गरेकाले समस्या समाधान नभएको भारतको तर्क छ तर पाकिस्तानले भने आतङ्कवादीलाई संरक्षण नगरेको दाबी गरेको छ ।