मलेसियामा मनाइयो बुद्ध जयन्ती

  २१ घण्टा अगाडि

काठमाडौँ, ३० वैशाख : नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियास्थित नेपाली समुदायको सहकार्यमा २५६९औँ बुद्धजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ ।

समारोहमा क्वालालम्पुरस्थित कूटनीतिक नियोग तथा व्यापारिक प्रतिष्ठानका प्रतिनिधि, बौद्धिक समुदाय तथा नेपाली समुदायको उपस्थिति रहेको थियो । करिब छ सय जनाको सहभागिता रहेको समारोहमा मलेसियाका बौद्ध विहारका प्रमुख भिक्षु दातुक केश्री धम्मारतनाले प्रमुख अथितिका रूपमा उपस्थित भई बुद्ध पूर्णिमाको महत्त्वका बारेमा उजागर गर्नुका साथै विश्वको शान्ति र समृद्धिका लागि बुद्ध दर्शनको महत्त्व र योगदानका बारेमा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनाले नेपालको लुम्बिनीमा जन्मेका बुद्धले अहिंसा, करुणा, प्रेम र प्रज्ञामार्फत विश्वशान्ति र राष्ट्र निर्माणका लागि अह्म योगदान गरेको बताउनुभयो । बुद्ध जन्मेको देश नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै मलेसियाको क्वालालम्पुरमा आयोजना गरिएको यो कार्यक्रममा बुद्धका सन्देशका बारेमा चर्चा गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस भएको उहाँको भनाइ थियो ।

राजदूत तिम्सिनाले लुम्बिनी भ्रमण गर्न, लुम्बिनीको विकासमा सहभागी भई बुद्धका सन्देशलाई विश्वभर फैलाई विश्वशान्ति कायम गर्नेजस्तो महत्त्वपूर्ण विषयमा योगदान गर्न सबैलाई अह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया