मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण गरिने

  १२ घण्टा अगाडि

काठमाडौँ, २९ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा सरकार लागिपर्ने बताउनुभएको छ । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उहाँले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले काम गर्ने बताउनुभएको हो ।

मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गर्नुभयो । “बाढीपछिको हेलम्बु र मेलम्चीको पुनर्निर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,” उहाँले भन्नुभयो । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने मन्त्री खड्काले बताउनुभयो । पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो । 

विसं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो धनजनको क्षति पुर्‍याएको थियो । उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालगायतको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो । मन्त्री खड्कालाई स्थानीयले पुनर्निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । (रासस)

तपाईको प्रतिक्रिया