ब्रम्हाण्ड निर्माता फान कु को कथा

  बैशाख २४, २०८२

चिनियाँ लोककथा

यो सृष्टि बन्नका लागि सबैभन्दा पहिला पञ्चतत्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशको निर्माण हुनुपर्‍यो । फान कु (盘古) नाम गरेका एक वीरले  यो ब्रम्हाण्डको आविष्कार गरे । अहिलेको जगत निर्माण हुनुभन्दा पहिला न ब्रम्हाण्ड थियो, न पृथ्वी, न आकाश । ब्रम्हाण्ड एउटा विशाल अण्डाजस्तै गोलाकार थियो । त्यसको भित्री भागमा गाढा कुहिरो थियो र अन्धमुष्टी वातावरण थियो भने माथिल्लो र तल्लो तथा दायाँबायाँबीचको अन्तर थिएन । त्यहाँ पूर्व, पश्चिम, उत्तर, दक्षिण भन्ने कुनै दिशाको छेकछन्द पनि थिएन।

गोलाकार कुहिरोका बीच एकजना पराक्रमीको उत्पत्ति भयो, जसको नाम थियो फानकु । कुहिरोमय विशाल अन्डाभित्र फान कु १८ हजार वर्ष पहिले गहिरो निद्राबाट ब्युँझिए । उनका आँखा खुले । हेर्दा त चारैतिर अन्धकार नै अन्धकार छ । शरीर यति तातो भयो कि उनलाई असैह्य पीडा महसुस भयो। सास लिन पनि निकै गाह्रो जस्तो हुन्थ्यो । उनी सिधा उभिन खोज्दथे तर अण्डाको खोलभित्र निकै कस्सिएको अवस्थामा थिए । हातगोडा चलाउन पनि असंभव । तब उनलाई अचाक्ली रीस उठ्यो र विशाल बञ्चरो समाते । पुरै शक्ति लगाएर उनले प्रहार गरेपछि निकै गडगडाहटका साथ त्यो विशाल अण्डा फुट्यो । त्यहाँबाट हल्का द्रव्य मास्तिर छचल्कियो । बिस्तारै बिस्तारै त्यो आकाश बन्यो । जुनमा धेरै द्रव्य वा तरलता थियो त्यो तलतिर बग्दै गयो र जमीनको रूप लियो ।  फान कु खुशीले गद्गद् भए कि उनको परिश्रमले जमीन र आकाश अलग अलग भएर प्रकट भए । तर उनलाई अर्को डर पनि थियो कि धर्ती र आकाश फेरि जोडिएलान् ।

फान कुले आफ्नो शीरलाई आकाशमा टेकाए र आफ्ना खुट्टा जमीनमा दबाए । आफ्नो दिव्य शक्तिबाट उनको शरीर दिनमा ९ पटक परिवर्तित हुने गर्दथ्यो । दैनन्दिन उनको शरीरको एक जाँघ (चीनको प्राचीन नाप जुन साढे ३ मिटर बराबर हुन्छ) बढ्दै गएको थियो । यसका साथ आकाश पनि एक जाँघजस्तै अग्लो भयो र जमीन पनि एक जाँघ मोटो भयो । एवंरितले १८ हजार वर्ष बित्यो । फान कु जमीन र आकाशको बीचमा एक अनन्त असीम विशाल मानव बने । उनको शरीर नै ९० हजार माइल भन्दा पनि लामो थियो । त्यसपछि थाहा भएन कि कति वर्ष बिते । अन्ततः धर्ती र आकाश आ-आफ्नो स्थानमा बलियोसँग स्थापित भए र फेरि जोडिने संभावना रहेन । फान कुले राहतको सास फेरे । तर त्यतिञ्जेलसम्म यो संसारका निर्माता फान कु पनि पुरै थाकेका थिए । आफूलाई उभ्याएर राख्न उनको ताकत नै अपर्याप्त हुन थाल्यो । उनी क्षीण क्षीण भएर लड्खडाउन थाले।

त्यसपछि फान कुको शवबाट बन्न बाँकी केही तत्वहरूको विकास भयो । उनको अन्तिम श्वास वासन्ती हावा र बादलको रूपमा बदलियो । अन्तिम आवाज बिजुलीको गर्जन बन्यो । बायाँ आँखा रातो रातो सूर्य बन्यो, दायाँ आँखा चन्द्रमा,   अस्थिपंजर रुख र फूलमा परिणत भए । रगत नदी ताल र सागर बन्यो । नशाहरू बाटो बने । मांसपेशी उर्बरा भूमि बन्यो । दाँत ढुंगा र धातु बने । पसिना वर्षा र ओश बने । उनको दारी कपाल चम्किला तारा बने । खोपडी सुनचाँदी, फलाम, तामा र जेड धातुको रूपमा बदलिए । टाउको थाइशान पहाड बन्यो जुन हालको शानतोङ प्रान्तमा पर्दछ । खुट्टा ह्वाशान पर्वत बन्यो जुन शान सी प्रान्तमा पर्दछ । बायाँ पाखुरा हुनान प्रान्तस्थित हङ पहाड बन्यो । उनको दाहिने पाखुरा शानसीको पेइयुए हङशान बन्यो । उनको भुँडी हनानको चोङयुए सोङशान बन्यो । अनि उनको आत्मा मानवमा परिणत भयो । यसरी विश्व ब्रम्हाण्ड बन्ने क्रम सम्पन्न भएको किंबदन्ती छ ।

तपाईको प्रतिक्रिया