ललितपुर, १८ वैशाख : बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ ।
विदेशी पाहुना दङ्ग
नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदुतले बिहीबार ललितपुरको पुल्चोक पुगेर वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा अवलोकन गरेका छन् ।
ललितपुर महानगरको निमन्त्रणामा उनीहरुले रथ यात्रा अवलोकन गर्न पुल्चोक पुगेका हुन् । रथ यात्राको अवलोकनका लागि विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि पनि आएका थिए ।
रथयात्रा हेर्न ललितपुर आएका विदेशी पाहुनालाई महानगर प्रमुख चिरीबाबु महर्ज, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन समितिका संयोजक एवं वडा नं.५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ, प्रवक्ता एवं वडा नं.९ का वडा अध्यक्ष राजु महर्जन लगायतले स्वागत गर्नु भएको थियो ।
निम्ता मान्न आउनेहरुमा युरोपेली युनियनका राजदुत भेरोनिका लोरेन्जो, इजरायलका राजदुत श्मुलिक एरीबास, जापानका राजदुत मेडा तोरु, बेलायतका राजदुत रब फेन, अमेरिकी दुतावासका पब्लिक अफियर्स चिफ जेहरा नाक्यूभीलगायतको उपस्थिति थियो । युनेस्को, युएनडिपी, युएनएचसीअरका प्रतिनिधिको उपस्थिति थियो ।
त्यसैगरी, भगिनी सम्बन्ध कायम भएको रसियाको उलान उदे सहरका नगर प्रमुख र उहाँको प्रतिनिधि मण्डल पनि रथ यात्रा अवलोकनमा सहभागी भएको थियो । यसका साथै अखिल भारत नेवार संगठनका आसाम इकाईका लिलबहादुर प्रधान र केन्द्रका सूर्य नारायण प्रधान पनि निम्ता मान्न आउनु भएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु रातो मच्छिन्द्रनाथको परिचय र चर्चालाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ दिन राजदुत र अन्तर्राष्ट्रिय विकास साझेदार संस्थालाई निम्तो दिएको बताउनु भयो । मच्छिन्द्रनाथको रथ हेर्न आएका विदेशी पाहुनालाई उद्धृत गर्र्दै महानगर प्रमुख महर्जनले भन्नुभयो, ‘‘विदेशी पाहुनाले एकदमै राम्रो लाग्यो भन्नुभयो, यस्तो रथ यात्रा अहिलेसम्म नहेरेको भनेर खुसी पनि प्रकट गर्नुभयो, हामी सबैलाई उहाँहरुले निम्ता दिएकोमा धन्यवाद दिनुभयो ।’’
रातो मच्छिन्द्रनाथको रथ बिहीबारबाट तान्न सुरु गरिएको हो । पुल्चोकबाट रथलाई तानेर गावहाल पुर्याइएको छ । गावहाल सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्याइन्छ ।
पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा पुल्चोकबाट सुरु भएर गाःबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै जावलाखेलमा समापन हुन्छ। समयसापेक्ष परम्परा अनुसार इति र थाती क्षेत्रको बिचमा महिलाले मात्रै रथ तान्ने गरिन्छ जसलाइ याकः मिसाया भुज्या भनिन्छ।
१२ वर्षमा एक पटक हुने ‘बार्ह वर्ष जात्रा’ को समय भने बुङ्गमतीमानै मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ। उक्त समयमा बुङ्गमतीदेखि च्यासीखेल, भैंसेपाटी, नख्खु, भनीमण्डल, झम्सिखेल हुँदै पुल्चोकसम्म रथ जात्रा ल्याइपुर्याइन्छ। हरेक वर्ष झै नगर परिक्रमा गरेर जावलाखेल पुर्याइ भोटो जात्रा गरिन्छ । अरु बेला बुगंलाई रथबाट निकाली खटमा विराज गराइ बुगंमती लगिन्छ भने बार्ह वर्ष जात्राको बेला भने रथलाई नै फेरि बुगंमतीसम्म तानेर लगिन्छ। बुगंमती पुगेपछि पुनः भोटो जात्रा देखाइन्छ। यो विशेष वर्ष दुई पटक भोटो देखाइने प्रचलन छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई सोमबार रथारोहण गरिएको गोरखापत्रमा उल्लेख छ ।



















