ड्रागन र हात्तीको सह-नृत्यको प्रतीक्षामा चीन

  फागुन २३, २०८१

बेइजिङ, २३ फागुन : चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले पारस्परिक उपलब्धिको साझेदार हुनु र ड्रागन र हात्तीको सहनृत्यलाई साकार तुल्याउनु नै चीन र भारतका लागि एक मात्र सही विकल्प रहेको बताएका छन्।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा जारी चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ जनकाङ्ग्रेस (एनपीसी) का दौरान आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।  सन्दर्भमा मार्च ७ तारिख उनले १४औं राष्ट्रिय जन कांग्रेसको तेस्रो पूर्ण सत्रमा कूटनीतिक मुद्दाहरूबारे  पत्रकार सम्मेलन गरेका थिए ।

विगत एक वर्षमा चीन र भारत बीचको सम्बन्ध राम्रो पाइलातर्फ बढिरहेको तथा दुवै पक्षले विभिन्न तहको आदानप्रदान र व्यवहारिक सहयोगलाई सबल पारेको र श्रृंखलाबद्ध उपलब्धि हासिल भएको उनले बताए । दुईटा सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा चीन र भारतको साझा कार्यभार भनेको राष्ट्रिय विकास र पुनःउत्थानलाई गतिशील तुल्याउने र दुवै पक्षले आपसी समर्थन दिनुपर्ने रहेको भन्दै उनले जुन दुई मुलुक र जनताको हित अनुकूल हुने सुझाए ।

ग्लोबल साउथ समूहको चर्चा गर्दै मन्त्री वाङले हाल ग्लोबल साउथको आर्थिक मात्राले विश्वको ४० प्रतिशतभन्दा बढी भाग ओगट्नुका साथै विश्व आर्थिक वृद्धिलाई दिइएको योगदान दर ८० प्रतिशत पुगेर ग्लोबल साउथ मुलुक अन्तर्राष्ट्रिय शान्तिको संरक्षक, विश्व विकासको दिशानिर्देशक र विश्व सुशासनको कारक बन्ने बताए ।

गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कजानमा सफलतापूर्वक भेटघाट गरी चीन-भारत सम्बन्ध सुधार र विकासमा रणनीतिक मार्गदर्शन गरेको वाङ यीको बुझाइ थियो।

‘दुवै पक्षले दुई देशका नेताहरूले हासिल गरेको महत्त्वपूर्ण सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेका छन्,’ उनले भने, ‘सबै तहमा आदानप्रदान र व्यावहारिक सहयोगलाई सुदृढ बनाएका छन् र श्रृंखलाबद्ध सकारात्मक परिणामहरू प्राप्त गरेका छन्।’

तपाईको प्रतिक्रिया