परनिर्भरता हटाउन बीआरआईको ऋण भएपनि लिनुपर्ने : कोइराला
साझाखबर प्रतिनिधि
बेइजिङ (चीन), १९ फागुन : चीन भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलसँग चीनले बीआरआई परियोजनाबारे छलफल गरेको छ । छलफलमा चीनले भनेको छ, ‘बीआरआई परियोजना अनुदान होइन ।’
बेइजिङमा भएको भेटवार्तामा चिनियाँ प्रतिनिधिहरूले बीआरआई अनुदान नभई व्यवहारिक सहयोग भएको स्पष्ट पारेका थिए । सहुलियत ब्याज दरमा नेपालले आवश्यक परियोजनाका लागि ऋण लिएर आफ्नो देशको विकास गर्नसक्ने धारणा राखेका थिए । सहुलियत ऋणका लागि चीनका पनि केही सर्त हुनसक्ने भन्दै चिनियाँ प्रतिनिधिहरुले यी विषय सम्झौताको चरणमा प्रष्ट हुने पनि जनाए ।
पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल अनुदान मात्र नभई ऋण लिन इच्छुक रहेको बताइन् । उनले भनिन्, ‘देशको आत्मसम्मान, स्वाभिमान, राष्ट्रिय स्वाधीनता, देशको विकास र समृद्धि तथा दुई देशबीचको परस्पर सम्बन्धका लागि पनि ऋण उपयुक्त हुनेछ।’
बीआरआई कार्यान्वयनमा लैजाँदा नेपालको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, कला, संस्कृतिसहित चौतर्फी विकासमा सहयोग पुग्ने भन्दै कोइरालाले नेपाली कामदारका लागि मात्रै नभएर चिनियाँ कामदारले पनि एकअर्काका देशमा व्यवसाय र रोजगारीको अवसर पाउने बताइन् ।

अन्तक्रियामा काङ्ग्रेस नेतृ किरण यादव, बर्मा लामा, देवराज चालिसे, उज्वल बराल लगायत सहभागी थिए । नेता बर्मा लामाले बीआरआई परियोजनामा नेपाल अझै पनि स्पष्ट नभएको भन्दै चीनले अझै खुलस्त पारिदिनुपर्ने सुझाव दिए।






