कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

  कार्तिक २६, २०८१

डडेल्धुरा, २६ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा आउनुभएको छ । उहाँले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गर्नुभयो ।

रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो ।

डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उहाँले बताउनुभयो । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उहाँको भनाइ उद्धृत गर्दै राससले जनाएको छ ।

सभापति देउवा भोली मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला) मा सरिक हुने कार्यक्रम रहेको छ । बडाल जाँत दाइन दमाहा, भोकर, रुईसिँग बाजाको धुनमा हातमा नाङ्गो तलवार खेलाउँदै खेलिने छाला (नाच) चौलोले प्रसिद्ध छ । बडाल उनको गृह पालिका गन्यापधुरा गाउँपालिका-२ मा पर्छ । 

बुधबार कात्तिक २८ गते कांग्रेस डडेलधुरा कार्यसमितिको बैठक, २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका-१ रुवाखोलामा र मङ्सिर १ गते उग्रतारा मेला (देहिजाँत) जाने कार्यक्रम तय भएको छ । देउवा मङ्सिर २ गते सङ्घीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया