गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग

  असोज २५, २०८१

नवलपुर (नवलपरासी), २५ असोज : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक सय ३० बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

गत असोज १२ गते नारायणी नदीमा आएको बाढीका कारण यहाँका एक सय ३० परिवार प्रभावित भएका थिए । उनीहरुलाई दसैँ मनाउन सहज होस् भनी खाद्यान्न सहयोग गरिएको उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । सबैको घरमा दसैँको रमाइलो भइरहेको अवस्थामा बाढीपीडितलाई खाद्यान्नसमेत् नभएका कारण सहयोग गरिएको उहाँको भनाइ छ ।

भट्टचनका अनुसार बाढीपीडितलाई प्रति परिवार आठ किलो पाँच सय ग्राम चामल, दुई किलो मुसुरोको दाल, एक लिटर सूर्यमुखीको तेल र सात प्याकेट चाउचाउ दिइएको छ । एक सय ३० परिवारलाई रु चार लाख बराबरको खाद्य सामग्री सहयोग गरिएको भट्टचनले बताउनुभयो । खाद्य सामग्री जय श्री फुड्स प्रालि एवम् गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गैँडाकोटका बाढीपीडितको बारेमा ढिला जानकारी प्राप्त गर्दा राहत सामग्री वितरणमा ढिलाइ भएको बताउनुभयो । “यहाँको अवस्थाका बारेमा हामीलाई ढिला जानकारी भयो, हालसम्म जिल्लाका धेरै बाढीपीडितलाई खाद्यान्न सहयोग भइसकेको छ”, उहाँले भन्नुभयो, “बाढीपीडितको नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र बाढीले बगाएको जानकारी भएको छ, त्यसबारे सहजीकरण गर्नेछु ।”

तपाईको प्रतिक्रिया