सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते, ‘छ’ को अवस्था गम्भीर

  असोज २४, २०८१

बागमती, २४ असोज : हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा३ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ८० नम्बरको ट्याक्सीसँग ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । 

दुर्घटनामा परी बसमा सवार ३५ जना यात्रु घाइते भएको र घाइतेहरुको उद्धारगरी उपचारका लागि हेटौँडास्थित अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घाइते मध्ये छ जनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । 

गम्भीर घाइते छ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भईरहेको उहाँको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण केहीबेर अवरुद्ध रहेको सो सडक अहिले सञ्चालनमा रहेको उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया