लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छः अध्यक्ष नेपाल

  भदौ १४, २०८१

काठमाडौँ, १४ भदौः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताउनुभएको छ ।

दोलखामा रहेको गाईखुरा युवा क्लबले आज यहाँ आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरु त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।” लागु औषध दुर्व्यसनका कारण युवाहरुले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उहाँले यसविरुद्ध सबै एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले लागु औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । यसका लागि कठोर कानून आवश्यक रहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) सांसद गङ्गा कार्की, नेपाली काग्रेसका नेता अजयवावु सिवाकोटी, बिशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदुत डा विश्वहरि नेपाललगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया