गण्डकीमा साँझ ५० संक्रमित थपिए, आज १०८ मा संक्रमण पुष्टि, कुल ४८८ पुग्यो

  असार ०६, २०७७

पोखरा, असार ६ : गण्डकी प्रदेशमा शनिबार मात्रै १०८ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमित नदेखिएको मुस्ताङ जिल्लामा समेत एक जना सङ्क्रमित भेटिएका छन् ।

नयाँ सङ्क्रमितसँगै गण्डकी प्रदेशमा कुन सङ्क्रमितको सङ्ख्या ४८८ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले शनिबार बिहान ५८ जना र बेलुका ५० जना नयाँ सङ्क्रमित थपिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । नयाँ सङ्क्रमण पुष्टि हुनेमा बागलुङमा ३७, नवलपुरमा ३४, तनहुँमा २७, गोरखामा पाँच, कास्कीमा दुई, स्याङ्जामा एक, म्याग्दीमा एक र मुस्ताङमा एक जना रहेका छन् ।

नयाँ सङ्क्रमण पुष्टि भएका सबै भारतबाट आई स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरू रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमित सबैलाई सम्बन्धित जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

नयाँ सङ्क्रमित थपिएसँगै हालसम्म गण्डकीको नवलपरासी पूर्वमा १३३, स्याङ्जामा ७६ जना, बागलुङमा १०३ जना, तनहुँमा ७० जना, पर्वतमा ४३, गोरखामा ४१ जना, कास्कीमा १५ जना, म्याग्दीमा चार जना, लमजुङ, मनाङ र मुस्ताङमा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण भएका ४८८ जनामध्ये ३९ जना कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किसकेको र एक जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया