कश्मिरमा पनि मनाइँदै योग दिवस

  असार ०८, २०८१

श्रीनगर (भारत), ७ असार : कश्मिरको मुस्लिम बाहुल्यता भएको क्षेत्रमा हजारौँ व्यक्तिको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा आयोजना गरिएको योग दिवसमा सहभागिता जनाउनुभएको छ । यो दिनले १०औँ अन्तर्राष्ट्रिय योग दिवसलाई चिह्नित गरेको छ ।

योग आँफैमा धार्मिक अभ्यास नभए पनि यसको उत्पत्ति हिन्दू दर्शनबाट भएको विश्वास रहेको छ र भगवान शिव पहिलो योगी मानिनुहुन्छ । कश्मिरका धेरै बासिन्दाहरू यो अनुशासनसँग अनजान छन् ।

यस कार्यक्रमका लागि कश्मिरभरिका हजारौँ सरकारी कर्मचारी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

योग दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “योगले शक्ति, र स्वास्थ्यलाई बढावा दिन्छ, त्यसैले डल तालको किनारमा बसोबास गर्ने प्रहरी र सशस्त्र सेनाका कर्मचारीसहित सयौँ व्यक्तिलाई योगलाई ‘आफ्नो दैनिक जीवनको हिस्सा’ बनाउनुपर्छ ।”

कश्मीरमा स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विभिन्न विद्रोही समूहले सन् १९८९ देखि आन्दोलन गर्दै आएका छन् ।एक दशकअघि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरिएको थियो र त्यसपछि मोदीले भारतका प्रतीकात्मक स्थानहरूमा योग कार्यक्रमको नेतृत्व गर्दै आउनुभएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया