मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

  जेठ २७, २०८१

नयाँदिल्ली, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका लोक सभामा नवनिर्वाचित कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदी तथा मन्त्रिपरिषद्को सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली आइपुग्नुभएको छ । भाजपा नेता मोदीको निमन्त्रणामा ‘प्रचण्ड’ भारत आउनुभएको हो ।

भारतीय विदेश मन्त्रालयको अफिसर अन स्पेशल ड्युटी (ईआर एण्ड डीपीए) डिभिजनका पी कुमारनले प्रधानमन्त्री दाहाललाई स्वागत गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको अद्वितीय सम्बन्धलाई उजागर गरेको बताउनुभयो ।

सामाजिक सञ्जाल ‘एक्स’ मा रणधीर जैसवालले लेख्नुभएको छ, “हाम्रा आदरणीय अतिथिलाई हार्दिक स्वागत छ । नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ तथा मन्त्रिपरिषद्का सदस्य भारतका कार्यबाहक प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली आइपुग्नुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’को भ्रमणले नेपाल र भारतबीचको अद्वितीय सम्बन्धलाई प्रतिबिम्बित गर्नुका साथै हाम्रो बहुआयामिक सम्बन्धलाई थप गति प्रदान गर्नेछ ।

भारतीय कार्यबाहक प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले ऐतिहासिक तेस्रो कार्यकालका लागि आइतबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछ ।

भ्रमण दलमा प्रधानमन्त्रीका साथ उहाँकी छोरी गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका दक्षिण एशिया महाशाखा प्रमुख भृगु ढुङ्गाना, प्रमुख शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, शिष्टाचार महापाल प्रविण भट्टराई र प्रधानमन्त्रीका तीन सुरक्षाकर्मी सहभागी रहेका छन् ।

भारतीय समयअनुसार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा हुने भारतीय मोदीको प्रधानमन्त्री पदको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुने विशिष्ट अतिथिमध्ये दाहाल पनि एक हुनुहुन्छ ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले लोकसभा चुनावमा २९३ सिट जितेको छ । भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनमा २७२ न्यूनतम बहुमत हो । भाजपा नेता मोदी जवाहरलाल नेहरुपछि तेस्रो कार्यकालका लागि निर्वाचित हुने दोस्रो भारतीय नेता हुनुहुन्छ ।

मोदीका साथै उहाँको मन्त्रिपरिषद्का सदस्यले पनि आजै साँझ शपथ लिने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीबाहेक छिमेकी क्षेत्र र हिन्द महासागर क्षेत्रका नेता तथा राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, सेसेल्सका उपराष्ट्रपति अहमद अफिफ; जगन्नाथ; नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, मौरिससका प्रधानमन्त्री प्रविन्द कुमार जुगनाथ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रधानमन्त्री मोदीको निमन्त्रणा स्वीकार गरी सपथ ग्रहण कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएको छ ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीको लगातार तेस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन नेताहरूको भ्रमण भारतले आफ्नो ‘छिमेकी पहिला’ नीति र ‘सागर’ भिजनलाई दिएको उच्च प्राथमिकताअनुरूप हो ।”

साथै, सपथ ग्रहण समारोहमा सहभागी हुनुका साथै राष्ट्रपति द्रौपदी मुर्मूले सोही साँझ राष्ट्रपति भवनमा आयोजना गरेको रात्रिभोजमा पनि सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । सन् २०१४ मा प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सार्कका सदस्य राष्ट्रहरूको सहभागिता हुने भएकाले यसलाई ‘मिनी सार्क शिखर सम्मेलन’ भनिएको थियो ।

भाजपा नेता मोदीले बिम्स्टेक समूहका देशहरूलाई आमन्त्रण गरेपछि दोस्रो सपथ ग्रहण समारोहले पनि चर्चा पाएको थियो । सन् २०१९ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो सपथ ग्रहण समारोहमा नेपालबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको थियो । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया