काठमाडौँ, २४ जेठ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिनुभयो ।
सञ्चालनमा आएका नयाँ अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकलाई आज काउन्सिलमा बोलाएर उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र पत्रकार आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही थालिएको बताउनुभयो ।
“समाचारमाध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछ”, उहाँले भन्नुभयो, “नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्छ ।”
काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिँदै अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका– २०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिनुभएको थियो ।
अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूल प्रवाहमा ल्याउने अवसर दिएको बताउनुभयो । उहाँले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजीपना कम हुँदै गएको औँल्याउनुभएको थियो । विभिन्न ४५ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो ।






