धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी : तापक्रम ४४ डिग्री नाघ्‍यो

  जेठ १७, २०८१

अत्तरिया, १७ जेठ : कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१ डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । 

कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो । बिहीबार ४४ डिग्री नाघेको बताउनुभयो । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको छ । 

मौसमविज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि, बिहीबार बढी तापक्रम मापन भएको जानकारी दिनुभयो । उहाँले सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको थियो । बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया