संसद्को गरिमालाई ह्रास हुन दिनुहुँदैन : पूर्वसभामुख सापकोटा

  जेठ १४, २०८१

काठमाडौँ, १४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमालाई ह्रास हुन दिन नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी सङ्गठन वाग्मती प्रदेशको प्रथम भेलाको आज उद्घाटन गर्दैै उहाँले भन्नुभयो, “संसदभित्र विचारको रिक्तता देखिएको छ, संसद्भित्रको छलफल र बहसलाई स्तरीय बनाउनुपर्छ ।”

उहाँले सरकारले पर्यटन क्षेत्रको विकासका लागि खोज, अनुसन्धान र आविष्कारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष सापकोटाले मुलुकको विकासका लागि बृहद् वामपन्थी एकता आवश्यक रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् पर्यटन विभागका इन्चार्ज पर्यटन ऐनलाई समयअनुसार परिमार्जन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई एकीकृत गरेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद (कमल) सापकोटाले व्यवसायी र पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा नेपाल पर्यटन व्यवसायी सङ्गठन लाग्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने खालको बजेट अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी राजन सिंखडाले नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले चिनियाँ पर्यटक नेपालमा धेरै भित्र्याउनका लागि काठमाडौँ–केरुङ सडकलाई स्तरोन्नति गर्नुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन व्यवसायी सङ्गठन बाग्मती प्रदेशका उपाध्यक्ष ठाकुरप्रसाद सापकोटाले पुरानो ऐनले पर्यटन क्षेत्रको विकास हुन नसक्ने भएकाले समयअनुसार ऐन परिवर्तनका लागि लाग्न सरकारलाई आग्रह गर्नुभयो । उक्त भेलाले मिलन तामाङको नेतृत्वमा ३१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया