भारतीय कलाकार सुशान्तको हत्या भएको आशङ्का गर्दै परिवारद्वारा अनुसन्धान माग

  असार ०१, २०७७

पटना, विहार, असार १ : आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशङ्का परिवारले गरेका छन् ।

उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

पछिल्लो पाँच वर्षमा सुशान्तले अभिनय गरेका पाँचभन्दा बढी चलचित्रले राम्रो कमाइ गरेको थियो । राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनले आत्महत्या गरेको बताएको थियो ।

तर राजपुतका मामा आरसी सिंहले सोमबार भन्नुभइकाे छ, ‘उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरूले यसको विरोध गरेका छौँ । उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’ 

विहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताउनुभएको छ ।

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरूले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ ।

तपाईको प्रतिक्रिया