कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ

  जेठ ०८, २०८१

काठमाडौँ, ८ जेठ : कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पब्लिकेसनको थापाथलीस्थित उहाँकै कार्यकक्षबाट आज पक्राउ गरेको हो ।

पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने बताउनुभएको छ । सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको र आफू पनि जेल गएको समेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

पक्राउ परेपछि अध्यक्ष सिरोहियाले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै आफूले छानबीनका लागि सघाउँछु भन्दाभन्दै कार्यकक्षबाट पक्राउ गरेकामा आपत्ती जनाउनुभयो । अध्यक्ष सिरोहियालाई पक्राउ गरेको दृश्य कान्तिपुरले प्रत्यक्ष प्रसारण गरेको छ । मिडियाको कार्यालयमै प्रहरी प्रवेश गरेर अध्यक्षलाई पक्राउ गरेको भन्दै मिडिया संम्वद्ध व्यक्तिको समेत त्यहाँ बाक्लो उपस्थिति थियो ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि अध्यक्ष सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धानका क्रममा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको जानकारी दिँदै थप अनुसन्धानका लागि जनकपुर लैजाने तयारी भइरहेको बताउनुभयो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया