वीरगञ्ज, जेठ ३२ : कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकालाई अस्पतालसम्म पु¥याउने , क्वारेन्टाइनसम्म स्बाव संकलन गर्न जाने स्वास्थ्यकर्मीलाई ओसार्ने एम्बुलेन्सका चालकलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । त्यतिमात्र नभई पर्साको पोखरिया नगरपालिकामा रहेको क्वारेन्टाइनमा खटिएका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना रहेको पुष्टि भएको छ ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का एम्बुलेन्सका चालक ३५ वर्षीय युवकमा आइतबार वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो । २५ वर्षीय एकजना हेल्थ असिस्टेन्ट, ४५, ३० र ३४ वर्षीय तीनजना अहेब, ३२ वर्षीय एकजना अनमी गरी पाँचजना स्वास्थ्यकर्मीलाई आइतबार वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पर्साको वैरियाविर्ता, सिवर्वा, सिर्सिया लम्हरियालगायत स्वास्थ्यचौकीमा कार्यरत ती सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइनमा डिउटी गर्ने पालो नपरेको दिन स्वास्थ्यचौकीमा गएर विरामी चेकजाँच गरेकाले सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ ।
सङ्क्रमण पुष्टि भएकी वीरगञ्जमा घर भएकी ३२ वर्षीय अनमिको साथमा ४ वर्षको छोरा रहेको छ भने उनका पति कविराज हुनुहुन्छ ।
पोखरीयाको स्कूलमा रहेको क्वारेन्टाइनमा रहेका पाँचजना भारतबाट आएका शंकास्पद सङ्क्रमित र पाँचजना स्वास्थ्यकर्मी, एक एम्बुलेन्स चालकसहित १० जना, बिन्दवासिनी गाउँपालिकाको झौवा क्वारेन्टाइनमा रहेका दुईजना, जिराभवानी र धोबिनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक÷एकजना, पर्सागढी नगरपालिकाका एकजना र पर्टेर्वा सुगौली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुईजना गरी १७ जनामा आइतबार सङ्क्रमण पुष्टि भएको हो ।
तीनजना महिला र १४ जना पुरुष गरी १७ जना नयाँ थपिएका सङ्क्रमितहरुमा अधिकांश भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।
नयाँ पुष्टि भएका सबै सङ्क्रमितलाई वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आईसोलेसनमा ल्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । आइतबार १७ जना नयाँ सङ्क्रमित थपिएसँगै पर्सा जिल्लामा सङ्क्रमिको सङ्ख्या १४३ पुगेको छ । पर्सा जिल्लामा हालसम्म ५ हजार १३ जनाको स्बाव संकलन गरिएको र त्यसमध्ये ३४६ स्बावको परीक्षण रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।






