अब निजी ल्याबमा पनि काेराेना परीक्षण, सबै खर्च सरकारले बेहोर्ने

  जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरुलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो ।

पीसीआर टेस्टका लागि सङ्कलित नमुना आवश्यक प्रक्रिया पूरा गरी स्विकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको उहाँले बताउनुभयो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ उहाँले बताउनुभयो ।

त्यस्तै, विदेश जानको लागि आवश्यक पर्ने भिसाको लागि निरोगिता प्रमाणपत्रको लागि लिइने नमुना परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका ल्याबमा गरिने उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रवत्ता गौतमले स्वास्थ्य मन्त्रालयको निर्देशिकामा यात्रा गरेर आउन र गरेपछि परीक्षण गर्नुपर्छ भन्ने नभएको बताउनुहुँदै कोही कसैको परीक्षण नगर्न, नगराउन सम्बद्ध संघसंस्था र स्थानीय निकाय, घरपेटीहरुमा आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्य सामग्रीको उचीत समयमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सकेसम्म घरबाहिर नआउन र यात्रा नगर्न आग्रह गर्नुभयो । प्रवत्ता गौतमले व्यक्तिगत सुरक्षा र सावधनीपूर्वक यात्रा गरेर सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा बस्न र नियमित रुपमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ, भन्नुभयो ।

तपाईको प्रतिक्रिया