डोल्पा डढेलो घटना : घाइते चार सैनिकमध्ये तीनको मृत्यु

  चैत २७, २०८०

डोल्पा, २७ चैत : डोल्पाको ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जानकारी दिनुभयो ।

रावलको उपचारको क्रमबार सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडौं किर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको प्रजिअ दाहालले बताउनुभयो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको काठमाडौँमै उपचार भइरहेको छ ।

मृतक रावलको शव नेपाली सेनाको हेलिकप्टरमा आज जुम्ला पु-याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनीहरु सोमबार आगो निभाउन गएका थिए । आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका शैनिक मुख्यालयको विज्ञप्ति उद्धृत गर्दै राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया