काठमाडौँ, २ चैत : नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल कला र संस्कृतिका क्षेत्रमा धनी देश भएको बताउँदै कला संरक्षणमा सधैँ सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ ।
काठमाडौँमा आजदेखि सुरु भएको तीनदिने ‘कलाशाला’ को उद्घाटन गर्दै उहाँले दुई दशक बढी समय नेपालसँग युरोपेली सङ्घले सहकार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभएको थियो । “नेपालसँगको सहकार्य गहिरो हुँदै गएको छ”, उहाँले भन्नुभयो, “हाम्रो सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ ।”
इन आर्ट वल्र्डको आयोजनामा पहिलोपटक नेपालमा ‘कलाशाला’ भएको आकार आर्ट सेन्टरका अध्यक्ष अनिता भट्टराईले जानकारी दिनुभयो । प्रिन्ट मेकिङ, चित्रकला, मूर्तिकला, डिजिटल आर्ट, परम्परागत कलालगायत कलाका विभिन्न विधालाई समेटेर एकै थलोमा कार्यशाला गरिएको छ । सबै कलाको संयोजनले एकरुपता र आत्मीयताको विस्तार हुने अध्यक्ष भट्टराईले बताउनुभयो ।