लम्की जेठ २८ : करिब एक महिना देखि खुल्ला भएका सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि भारत गएका र लकडाउनमा अल्पत्र परेका नेपाली आउनेक्रम घट्दै गएको छ । बुधबार सुदूपश्चिमका दुई मुख्य नाकाबाट एक हजार ५३९ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ४४१ भारतीय नागरिक बाहिरीएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार गड्डा चौकी नाकाबाट ४८८ नेपाली नागरिक भित्रिएकाछन् भने ५२ जना भारतीय नागरिक बाहिरीएका छन् । त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको संख्या मंगलबारको तुलनामा आधा घटेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक प्रतिक बिष्टका अनुसार उक्त नाकाबाट बुधबार एक हजार ५१ जना नेपाली नागरिक भित्रिएका छन भने ३८९ भारतीय नागरिक बाहिरिएका छन् ।
यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब एकलाख पाँचहजार हाराहारीमा नेपाली नागरिक नेपाल भित्रिएकाछन् भने बाहिरीनेको संख्या करिब चौध हजार पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले फागुन २३ यता सुदूरपश्चिम प्रदेशका चार मुख्य नाकाबाट भित्रिने नेपालीको तथ्यांक अभिलेख गरेको जनाएकोछ । सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदीले फागुन यता सुदूरपश्चिम प्रदेशका विभिन्न नाका बाट दुई लाख ६५ हजार बढी नागरिक भित्रिएको जानकारी गराउदै अझै चालीसहजार बढी मानिस भित्रिने अनुमान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामीले स्थानीय तहलाई भारतमा तथा अन्य देश रहेका नेपालीको तथ्यांक पठाउन पत्राचार गरेका थियौं कसैले पठाउनु भयो कसैले पठाउनु भएको छैन त्यसैले एकिन तथ्यांक छैन ।’ मन्त्री सुबेदीका अनुसार सुदूरपश्चिमका झुलाघाट,धार्चुला, गड्डा चौकी र गौरीफन्टा नाका बाट फागुन २३ देखि चैत्र ९ गते सम्म एक लाख त्रिचालिस हजार ३२५ नेपाली भित्रिएकाछन् । त्यसैगरी चैत्र १० र ११ गते उक्त नाकाबाट १६ हजार बढी नेपाली भित्रिएका छन् ।
मन्त्री सुवेदीले लकडाउन अवधिमा एकलाख २५ हजार बढी नेपाली भित्रिएको जानकारी दिनुभयो । जेठ ६ गते सम्म नेपाल भित्रिने नेपाली नागरिकको सिमामै आरडिटी परीक्षण गरी पठाउने ब्यवस्था गरिएको भएप नि दैनिक आउने संख्या बढ्दै गएपछि परीक्षण नगरी पठाइएको मन्त्री सुवेदीले बताउनुभयो ।






